खरसाङ: खरसाङमा पुनः एकपटक डिजिटल ठगीको घटना सार्वजनिक भएको छ। प्राप्त जानकारी अनुसार भारतीय रेलवे विभागबाट हालै अवकाश ग्रहण गरेका खर्साङ निवासी सङ्गे लामा डिजिटल ठगीको शिकार बनेका छन्। उक्त घटनामा उनीबाट लगभग १९ लाख 3० हजार रुपियाँ ठगी गरिएको जानकारी प्राप्त भएको छ। उक्त व्यक्तिलाई पेन्सनसम्बन्धी विभिन्न प्रक्रिया तथा कागजी कार्यहरू सहज रूपमा सम्पन्न गरिदिने, पेन्सन रकम तथा अन्य सुविधा छिटो उपलब्ध गराइदिने आश्वासन देखाएर ठगी गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। ठगहरूले विभिन्न बहाना बनाई फोन तथा डिजिटल माध्यममार्फत सम्पर्क गरी विश्वासमा पार्दै चरणबद्ध रूपमा रकम स्थानान्तरण गराउन सफल भएका थिए। यसरी उनले ठगहरूको जालमा फसेर जम्मा १९ लाख २० हजार रुपियाँ गुमाउन पुगेका छन्। घटनापछि सम्बन्धित निकायमा उजुरी दर्ता गरिएको बताइएको छ भने पुलिसले घटनाको थप अनुसन्धान गरिरहेको छ। साथै सर्वसाधारणलाई अपरिचित व्यक्तिको फोन, सन्देश वा डिजिटल माध्यमबाट आउने कुनै पनि आर्थिक कारोबारसम्बन्धी अनुरोधप्रति सतर्क रहन आग्रह गरिएको छ।










