चन्द्रयान-३ को ठूलो खुलासा: ‘शिव शक्ति’ विन्दुको माटो र चन्द्रमाको पहिलो उल्कापिण्डबीच अनौठो सम्बन्ध भेटियो

chandrayaan-3-lunar-soil-antarctica-meteorite-shiv-shakti-point-discovery-explain-2026-06-5ff040efa1cc8ad384b9617ff2469787-1200x800

​नयाँ दिल्ली: चन्द्रमाको दक्षिणी ध्रुव नजिकै चन्द्रयान-३ को प्रज्ञान रोभरले परीक्षण गरेको माटोको रासायनिक संरचना चन्द्रमाको पहिलो ज्ञात उल्कापिण्डसँग मिल्दोजुल्दो पाइएको छ। अहमदाबादस्थित भौतिक अनुसन्धान प्रयोगशाला (पीआरएल) का वैज्ञानिकहरूले गरेको एक नयाँ अध्ययन अनुसार ‘शिव शक्ति’ विन्दु (चन्द्रयान-३ अवतरण भएको स्थल) को माटो र चन्द्रमाको प्राचीन सतहको भू-रासायनिक बनावटमा निकै समानता देखिएको हो। यो खोजसम्बन्धी प्रतिवेदन प्रसिद्ध वैज्ञानिक जर्नल ‘एनपीजी स्पेस एक्सप्लोरेसन’ मा प्रकाशित भएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ।
​वैज्ञानिकहरूका अनुसार सन् १९८१-१९८२ को अभियानका क्रममा एन्टार्कटिकाको एलन हिल्स क्षेत्रमा फेला परेको ‘एएलएचए ८१००५’ नामक चन्द्रमाको पहिलो उल्कापिण्ड र शिव शक्ति क्षेत्रको माटोमा आल्मुनियम अक्साइड, आइरन अक्साइड र म्याग्नेसियम अक्साइडको मिश्रण लगभग एकै मात्रामा पाइएको छ। यद्यपि, अनुसन्धानकर्ताहरूले यसको अर्थ उक्त उल्कापिण्ड शिव शक्ति क्षेत्रकै टुक्रा हो भन्ने नभई दुवैले चन्द्रमाको म्याग्नेसियमले भरिपूर्ण प्राचीन सतह र रेगोलिथ (सतहमा पाइने खुकुलो पदार्थ) को समान चरित्रलाई दर्शाउने स्पष्ट पारेका छन्।
​यस विश्लेषणले शिव शक्ति स्टेशनमा रहेको माटो चन्द्रमाको सतहका विभिन्न पत्रहरूबाट आएका पदार्थहरूको मिश्रण भएको देखाउँछ। इसरोले चन्द्रयान-३ को यो नयाँ खोजले चन्द्रमाको पहिलो पहिचान भएको उल्कापिण्डसँग शिव शक्ति क्षेत्रलाई जोडेर चन्द्रमाको प्राचीन सतह (क्रस्ट) निर्माण हुने प्रक्रियालाई अझ गहिराइबाट बुझ्नका लागि वैज्ञानिकहरूका लागि नयाँ मार्ग खोलिदिएको उल्लेख गरेको छ।

About Author

Advertisement