नयाँ दिल्ली: चन्द्रमाको दक्षिणी ध्रुव नजिकै चन्द्रयान-३ को प्रज्ञान रोभरले परीक्षण गरेको माटोको रासायनिक संरचना चन्द्रमाको पहिलो ज्ञात उल्कापिण्डसँग मिल्दोजुल्दो पाइएको छ। अहमदाबादस्थित भौतिक अनुसन्धान प्रयोगशाला (पीआरएल) का वैज्ञानिकहरूले गरेको एक नयाँ अध्ययन अनुसार ‘शिव शक्ति’ विन्दु (चन्द्रयान-३ अवतरण भएको स्थल) को माटो र चन्द्रमाको प्राचीन सतहको भू-रासायनिक बनावटमा निकै समानता देखिएको हो। यो खोजसम्बन्धी प्रतिवेदन प्रसिद्ध वैज्ञानिक जर्नल ‘एनपीजी स्पेस एक्सप्लोरेसन’ मा प्रकाशित भएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार सन् १९८१-१९८२ को अभियानका क्रममा एन्टार्कटिकाको एलन हिल्स क्षेत्रमा फेला परेको ‘एएलएचए ८१००५’ नामक चन्द्रमाको पहिलो उल्कापिण्ड र शिव शक्ति क्षेत्रको माटोमा आल्मुनियम अक्साइड, आइरन अक्साइड र म्याग्नेसियम अक्साइडको मिश्रण लगभग एकै मात्रामा पाइएको छ। यद्यपि, अनुसन्धानकर्ताहरूले यसको अर्थ उक्त उल्कापिण्ड शिव शक्ति क्षेत्रकै टुक्रा हो भन्ने नभई दुवैले चन्द्रमाको म्याग्नेसियमले भरिपूर्ण प्राचीन सतह र रेगोलिथ (सतहमा पाइने खुकुलो पदार्थ) को समान चरित्रलाई दर्शाउने स्पष्ट पारेका छन्।
यस विश्लेषणले शिव शक्ति स्टेशनमा रहेको माटो चन्द्रमाको सतहका विभिन्न पत्रहरूबाट आएका पदार्थहरूको मिश्रण भएको देखाउँछ। इसरोले चन्द्रयान-३ को यो नयाँ खोजले चन्द्रमाको पहिलो पहिचान भएको उल्कापिण्डसँग शिव शक्ति क्षेत्रलाई जोडेर चन्द्रमाको प्राचीन सतह (क्रस्ट) निर्माण हुने प्रक्रियालाई अझ गहिराइबाट बुझ्नका लागि वैज्ञानिकहरूका लागि नयाँ मार्ग खोलिदिएको उल्लेख गरेको छ।










