मियामी: गत विजेता अर्जेण्टिनाले जसोतसो जीत हासिल गरी फिफा वर्ल्ड कप २०२६-को अन्तिम १६ चरण (राउण्ड अफ १६)-मा प्रवेश गऱ्यो। अर्जेण्टिनाले मियामी स्टेडियममा खेलिएको चरम रोमाञ्चक म्याचमा केप भर्डेलाई ३-२-ले पराजित गरी अघिल्लो राउण्डमा प्रवेश गऱ्यो। म्याच रोमाञ्च र उतार-चड़ाउले भरिएको रह्यो अनि फसेला अतिरिक्त समयको खेलमा मात्र भयो। फिफा वर्ल्ड कपमा पहिलोपल्ट हिस्सा लिइरहेको लगभग ५.२९ लाख जनसंख्या भएको सानो देश केप भर्डेले ३ पल्टको च्याम्पियन अर्जेण्टिनालाई पूरा म्याचमा तिरीखिरी पाऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहँदा अतिरिक्त समयको खेल भयो, जसमा एक समय फेरि स्कोर २-२-को बराबरीमा रहेको थियो। अन्तमा डिने बोर्गसको आत्मघाती गोलले केप भर्डेको संघर्षमा विराम लगायो। यसरी लड़ाकू प्रदर्शनपछि म्याचमा हारको सामना गर्नु परे पनि केप भर्डेले करोड़ौं मानिसहरूको मन जितेर गर्वको साथ टुर्नामेण्टबाट बिदा लियो। यसरी भाग्यको दममा जीत हासिल गर्ने अर्जेण्टिनाको अन्तिम १६-मा इजिप्टसँग भिड़न्त हुनेछ, जसले अन्य एउटा म्याचमा अष्ट्रियालाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। कागज-कलममा अर्जेण्टिना र केप भर्डेबीच कुनै तुलना नहुने भए पनि मैदानमा अफ्रिकी देशले गत विजेता टीमलाई लगातार दबाउमा राख्यो। यसैकारण म्याच अतिरिक्त समयसम्म चल्यो। दिग्गज फरवर्ड लियोनल मेस्सी यस म्याचमा पनि अर्जेण्टिनाको निम्ति सबैभन्दा प्रभावशाली खेलाड़ी रहे तर केप भर्डेको उत्कृष्ट प्रदर्शनले उनलाई पनि दबाउमा देखियो। बोर्गसले आत्मघाती गोल नगरेको भए म्याचको नतीजा केही पनि हुन सक्ने थियो। म्याचमा २ पल्ट पछाड़िए पनि असाधारण पुनरागमन गर्ने केप भर्डेका खेलाड़ीहरूलाई म्याच समाप्त भएपछि मैदानमा धुरुधुरु रोईरहेको देखियो।
म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाको शुरुवात असल रह्यो अनि मेस्सीले हाईड्रेशन ब्रेकको लगत्तै पछि २९औं मिनटमा गोल गरी टीमलाई बढ़त दिलाए। अर्जेण्टिनाले त्यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। दोस्रो हाफको खेलमा चाहिँ केप भर्डेले शुरुवातदेखि नै आक्रमण शुरु गऱ्यो। यसै क्रमममा डेरोय डुआर्टेले ५९औं मिनटमा गोल गरेर केप भर्डेलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित ९० मिनटको खेल समाप्त हुँदासम्म दुवै टीमले थप गोल गर्न सकेन। यस अवधि मेस्सीले ६२औं र ७२औं मिनटमा असल मौकाहरू गुमाए। यसरी केप भर्डेले पनि केही असल मौकाहरूलाई काममा लगाउन सकेन। अतिरिक्त समयको खेलमा अर्जेण्टिनाले फेरि बढ़त हासिल गऱ्यो। डिफेण्डर लिसान्द्रो मार्टिनेजले ९२औं मिनटमा नजिकबाट गोल गरे। त्यस गोलपछि अर्जेण्टिनाले सजिलै म्याच जित्ने लागिरहेको थियो तर केप भर्डेले पनि हरेस खाएन अनि चाँड़ै म्याचमा दोस्रोपल्ट बराबरी हासिल गऱ्यो। सिडनी लोपेस काब्रालले १०३औं मिनटमा दर्शनीय गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि म्याचको १११औं मिनटमा म्याचको निर्णायक मोड़ आयो। मेस्सीको कर्नरमा केप भर्डेका डिने बोर्गसले आत्मघाती गोल गर्दा अर्जेण्टिना प्री-क्वार्टर फाइनलमा पुग्यो। मेस्सीको कर्नरमा गोली अर्जेण्टिनाई डिफेण्डर क्रिस्टियन रोमेरोको हेडरमा गोली बोर्गसको शरीरमा लागेर केप भर्डेको नेटमा पस्यो। त्यसपछि अफ्रिकी टीमले ११६औं र १२०औं मिनटमा गोलको प्रयास गरे पनि सफलता हासिल गर्न सकेन।










