सिलगढी: सिलगढी नगर निगम (एसएमसी)ले नगरको ढल निकास प्रणालीलाई व्यवस्थित बनाउन, वर्षातको समयमा हुने डुबानको समस्या समाधान गर्न र अवैध निर्माण विरुद्ध आफ्नो अभियानलाई तीव्र पारेको छ। यसै क्रममा मंगलबार नगर निगमका कमिस्नर वीर विक्रम राईले वडा नम्बर ८ का विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा एसएफ रोडका कतिपय पसलहरूले ढलमाथि नै स्थायी तथा अस्थायी संरचनाहरू निर्माण गरेको पाइएको थियो। यस्ता संरचनाका कारण ढल सफा गर्न बाधा पुगेको र वर्षायाममा पानी जमेर डुबानको समस्या थप जटिल बनेको अधिकारीहरूले बताएका छन्।
यस विषयलाई गम्भीरतापूर्वक लिँदै कमिस्नर राईले सम्बन्धित पसल सञ्चालकहरूलाई ढलमाथि गरिएका सम्पूर्ण निर्माण कार्य ३ दिनभित्र आफ्नै खर्चमा हटाउन निर्देशन दिएका छन्। तोकिएको समयभित्र निर्देशन पालना नगरे नगर निगमले कानुनी रूपमा कडा कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।
निरीक्षणका क्रममा सो क्षेत्रमा नियम विपरीत राखिएका ठूला होर्डिङ बोर्डहरूको पनि जाँच गरिएको थियो। मापदण्ड मिचेर राखिएका त्यस्ता विज्ञापन बोर्डहरूलाई तत्काल हटाउन अधिकारीहरूलाई निर्देशन दिइएको छ।
यसैगरी, एसएफ रोडकै एक बहुतले भवनको अगाडि निर्माण गरिएका केही पसलहरूले भवनको मुख्य प्रवेशद्वार नै आंशिक रूपमा थुनेको जनगुनासो आएपछि कमिस्नर राईले ती पसलहरूको वैधानिकता र स्वीकृतिको नक्सा जाँच गर्न विभागलाई निर्देशन दिएका छन्।
नगर निगमको यस कदमलाई स्वागत गर्दै पूर्व काउन्सिलर शालिनी डामियाले वडावासीले भोग्नुपरेको सास्ती र असुविधालाई हटाउन यो निरीक्षण निकै प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन्।









