​अवैध संरचना हटाउन एसएमसीको ३ दिने अल्टिमेटम, कडा कारबाहीको चेतावनी

250px-Siliguri_Municipal_Corporation_emblem

सिलगढी: ​सिलगढी नगर निगम (एसएमसी)ले नगरको ढल निकास प्रणालीलाई व्यवस्थित बनाउन, वर्षातको समयमा हुने डुबानको समस्या समाधान गर्न र अवैध निर्माण विरुद्ध आफ्नो अभियानलाई तीव्र पारेको छ। यसै क्रममा मंगलबार नगर निगमका कमिस्नर वीर विक्रम राईले वडा नम्बर ८ का विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
​निरीक्षणका क्रममा एसएफ रोडका कतिपय पसलहरूले ढलमाथि नै स्थायी तथा अस्थायी संरचनाहरू निर्माण गरेको पाइएको थियो। यस्ता संरचनाका कारण ढल सफा गर्न बाधा पुगेको र वर्षायाममा पानी जमेर डुबानको समस्या थप जटिल बनेको अधिकारीहरूले बताएका छन्।
​यस विषयलाई गम्भीरतापूर्वक लिँदै कमिस्नर राईले सम्बन्धित पसल सञ्चालकहरूलाई ढलमाथि गरिएका सम्पूर्ण निर्माण कार्य ३ दिनभित्र आफ्नै खर्चमा हटाउन निर्देशन दिएका छन्। तोकिएको समयभित्र निर्देशन पालना नगरे नगर निगमले कानुनी रूपमा कडा कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।
​निरीक्षणका क्रममा सो क्षेत्रमा नियम विपरीत राखिएका ठूला होर्डिङ बोर्डहरूको पनि जाँच गरिएको थियो। मापदण्ड मिचेर राखिएका त्यस्ता विज्ञापन बोर्डहरूलाई तत्काल हटाउन अधिकारीहरूलाई निर्देशन दिइएको छ।
​यसैगरी, एसएफ रोडकै एक बहुतले भवनको अगाडि निर्माण गरिएका केही पसलहरूले भवनको मुख्य प्रवेशद्वार नै आंशिक रूपमा थुनेको जनगुनासो आएपछि कमिस्नर राईले ती पसलहरूको वैधानिकता र स्वीकृतिको नक्सा जाँच गर्न विभागलाई निर्देशन दिएका छन्।
​नगर निगमको यस कदमलाई स्वागत गर्दै पूर्व काउन्सिलर शालिनी डामियाले वडावासीले भोग्नुपरेको सास्ती र असुविधालाई हटाउन यो निरीक्षण निकै प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन्।

About Author

Advertisement