नाम्चीमा २० दिने परम्परागत खाजा तथा खाद्य प्रशोधन तालिम सुरु

5f432aa6-1671-49f1-9a65-aa53596342c8

नाम्ची: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागद्वारा गान्तोकस्थित ‘झिम्मे टेकअवे’ को सहकार्यमा आयोजित २० दिने परम्परागत खाजा र कन्फेक्सनरी तथा २० दिने खाद्य प्रशोधन क्लस्टर तालिमको सोमबार भव्य उद्घाटन गरिएको छ। केन्द्रीय एमएसएमई मन्त्रालयको र्‍याम्प योजना अन्तर्गत नाम्ची जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कातेङ पाम्फोक जीपीयूमा यो कार्यक्रम आयोजना गरिएको हो।
​पशुपालन तथा भेटेरिनरी सेवा विभागकी अध्यक्ष डोमा लेप्चाको मुख्य आतिथ्यमा सम्पन्न उक्त उद्घाटन समारोहमा कातेङ पाम्फोक जीपीयूका पञ्चायत अध्यक्ष पी. एल. घिमिरे, रातेपानी जीपीयूकी पञ्चायत अध्यक्ष इन्द्र कुमारी दोङ, पञ्चायत सदस्यहरू तथा स्थानीय गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस तालिममा स्वयं सहायता समूहका सदस्य र उद्यमी बन्न चाहने कुल ४० जना स्थानीय युवा तथा महिलाहरू (प्रत्येक विधामा २०–२० जना) सहभागी भएका छन्।
​तालिम अवधिभर सहभागीहरूलाई परम्परागत खाजा बनाउने तरिका, खाद्य प्रशोधन, खाद्य सुरक्षा, प्याकेजिङ, ब्रान्डिङ र उद्यमशीलताका विविध पक्षबारे व्यावहारिक ज्ञान दिइनेछ। उद्घाटनका क्रममा मुख्य अतिथि लेप्चाले सहभागीहरूलाई यस अवसरको पूर्ण सदुपयोग गर्दै आफ्नो सीपलाई सफल व्यवसायमा बदल्न प्रोत्साहन गरिन्।
कार्यक्रममा सहभागीहरूलाई प्रयोगात्मक सिकाइका लागि आवश्यक ‘स्टार्टर किट’ समेत वितरण गरिएको थियो।
​यो पहल सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको “एक परिवार, एक उद्यमी” को दूरदर्शी अवधारणालाई साकार पार्दै ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन र स्वरोजगार प्रवर्द्धन गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

About Author

Advertisement