​सिलगढी: श्रीदश महाविद्या विष्णुसहस्त्र कोटिहवन महायज्ञ सुरु

3dac7fa8-c12b-42ee-8c94-c52c2e86b5ae

सांसद विष्टद्वारा गुरु महाराजको आशीर्वाद ग्रहण

सिलगढी: शिव शक्ति धाम ट्रस्टको तत्त्वावधानमा गान्धी मैदान, २ माईल चेकपोस्ट, सिलगढीमा ‘श्रीदश महाविद्या विष्णुसहस्त्र कोटिहवन महायज्ञ – २०२६’ भव्य रूपमा आयोजना भइरहेको छ। उक्त महायज्ञमा आज दार्जिलिङका सांसद राजु विष्टले विशेष उपस्थिति जनाउँदै परम पूज्य गुरु श्री श्री श्री १००८ बाबा कालीदास कृष्णानंद परमहंस जी महाराजको दर्शन गरी आशीर्वाद ग्रहण गरेका छन्।
​वैदिक परम्परा अनुसार यो महायज्ञ अत्यन्त दुर्लभ र विशेष अनुष्ठान मानिन्छ। जगत्का पालनकर्ता भगवान् विष्णु र दश महाविद्याहरूको संयुक्त कृपा, ब्रह्माण्डीय शान्ति तथा सम्पूर्ण मानव कल्याणका लागि यो महायज्ञ आयोजना गरिएको हो। अनुष्ठानका क्रममा आध्यात्मिक उन्नति, रोगव्याधिको नाश र असीम समृद्धिको कामना गर्दै भगवान् विष्णुका एक हजार पवित्र नामहरू (विष्णु सहस्रनाम) को करोडौँ पटक जप गरी हवनमा आहुति अर्पण गरिने आयोजकले जनाएको छ।
​महायज्ञमा सहभागी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद राजु विष्टले भगवान् विष्णुको पूजा–आराधनाले केवल धर्मको बोध मात्र नगराई चरित्र निर्माण, परिवार निर्माण र राष्ट्र निर्माणको मार्ग देखाउने उल्लेख गरे।
​”जब व्यक्तिको चरित्र बलियो हुन्छ, तब परिवार सुदृढ हुन्छ; जब परिवार सुदृढ हुन्छ, समाज सभ्य बन्छ र जब समाज सभ्य हुन्छ, तब मात्र राष्ट्र शक्तिशाली बन्छ,” सांसद विष्टले भने।
​उनले आजको आधुनिक युगमा भौतिक विकास जत्तिकै संस्कार, संस्कृति र आध्यात्मिक चेतनाको पनि उत्तिकै आवश्यकता रहेको औंल्याए। सनातन संस्कृतिले सधैं विश्वलाई “वसुधैव कुटुम्बकम्” (विश्व नै एक परिवार हो) को सन्देश दिएको चर्चा गर्दै उनले यही नै हाम्रो सबैभन्दा ठूलो शक्ति भएको दाबी गरे। यस्ता धार्मिक र सांस्कृतिक आयोजनहरूले समाजलाई जोड्न, नयाँ पुस्तालाई संस्कार दिन र समग्र सभ्यतालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
​समारोहमा सांसद विष्टले कथा व्यास पीठमा विराजमान पूज्य गुरुदेव, आयोजक समितिका पदाधिकारी, मातृशक्ति, श्रद्धालु सर्वसाधारण तथा उपस्थित जनसमुदायप्रति हार्दिक नमन एवं श्रद्धा अर्पण गरेका थिए। महायज्ञमा सिलगढी र आसपासका क्षेत्रबाट हजारौँ भक्तजनहरूको घुइँचो लागिरहेको छ।

About Author

Advertisement