सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ समष्टिको प्रशान्ति ग्राम शाखामा एक सांगठनिक सभा सम्पन्न भएको छ। समष्टि अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सभाको सञ्चालन राजु तामाङले गरेका थिए। सभाले प्रशान्ति ग्राम शाखा समितिलाई सर्वसम्मतिले गठन गर्दै भुपाल प्रधानलाई शाखा अध्यक्ष, कुमार गुरुङलाई उपाध्यक्ष, राजु तामाङलाई सचिव, निङमा शेर्पालाई सह सचिव, कर्म तामाङलाई कोषाध्यक्ष तथा एन.जी. भुटिया र गोपाल गुरुङलाई सल्लाहकार चयन गरेको छ। त्यसैगरी कार्यकारिणी सदस्यहरूमा रमेश वाल्मीकि, कुमार गुरुङ, सुकबहादुर रुम्बा, शिव सुब्बा, पूर्ण घिसिङ, प्रेम शेर्पा, छिरिङ रुम्बा तथा एल.बी. लिम्बु सर्वसम्मतिले चयन भएका छन्।
सभाले निकट भविष्यमा प्रशान्ति ग्राममा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा समिति गठन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ।
कार्यक्रममा समष्टि प्रतिनिधिहरू तथा गोरामुमो सोनादा टाउन कमिटीका प्रतिनिधिहरूले नवगठित शाखा समितिका पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सभालाई सम्बोधन गर्दै वक्ताहरूले विकासका मुद्दासँगै गोर्खा जातिको न्याय र पहिचानको मुद्दा अहिलेको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। उनीहरूले गोर्खा समुदायले आफ्नो अधिकार प्राप्त गर्ने समय नजिकिँदै गएको विश्वास व्यक्त गर्दै बजारमा फैलाइने भ्रम र हल्लाको पछि नलागी सबै एकजुट भएर आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। यसको साथै संगठन विस्तारलाई अझ तीव्र बनाउँदै प्रत्येक गाउँ र बस्तीमा गोरामुमोलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको थियो।










