कडा मेहनत गर्न सके आफ्नो लक्ष्यमा पुग्न सकिन्छ: क्रिस्पिन छेत्री
खरसाङ: सात वर्षपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि दिलाउने भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा नागरिक सम्मान जनाइएको छ। युनाईटेड खरसाङ फुटबल क्लब (युकेएफसी) को आयोजनामा खरसाङको राज राजेश्वरी हलमा सम्पन्न उक्त नागरिक सम्मान कार्यक्रमको अध्यक्षता युकेएफसीको सभापति केनेट लेप्चाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। यस नागरिक सम्मान कार्यक्रमलाई युकेएफसीको सह सचिव चिराग तिवारीले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण युकेएफसीको सल्लाहकार गोपाल छेत्रीले राखेका थिए। यसै कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई नागरिक सम्मान जनाइएको छ। यस अवसरमा युनाईटेड खरसाङ फुटबल क्लबको तर्फबाट खदार्पणसहित, जातीय टोपी, स्मृति चिन्हको रुपमा जातीय खुकुरी, सम्बर्ध्दना पत्र आदिद्वारा सम्मान जनाइएको छ। यसको साथै उनकी आमालाई पनि क्लबको तर्फबाट शल ओढाएर सम्मान जनाइएको छ। यसको साथै खेलकूदसित सम्बन्धित खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुले पनि भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान जनाइएको छ। यसको साथै खरसाङ महकुमा खेलकूद संघको तर्फबाट क्रिस्पिन छेत्रीलाई सम्मान साथै द्रोणाचार्य अवार्डको लागि प्रस्ताव पठाउने पनि जानकारी सचिव निर्मल गुरुङले जानकारी गराइएको छ। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले पनि क्रिस्पिन छेत्रीलाई सम्मान जनाएका थिए। कार्यक्रममा युकेएफसीको संस्थापक सदस्यहरु, वर्तमान पदाधिकारीहरु र खेलाडीहरुलाई पनि मञ्चमा बोलाएर सम्मानसहित परिचय आदान प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले आफ्नो वक्तव्यमा आफु कार्यक्रममा ढिलो आएकोमा क्षमा याचना गरे। उनले क्रिस्पिन छेत्री खरसाङ लगायत सम्पूर्ण पहाडको लागि नै गौरव हुन् र यो क्षण सबैको लागि गौरवको क्षण रहेको बताएका छन्। उनले पहाडको लागि स्टेडियम निर्माणको पहल भइरहेको जानकारी गराउँदै चाढै खुशीको खबर आउने पनि बताएका छन्। यस कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले आफ्नो छोटो सम्बोधनमा भने, कडा मेहनत गर्न सके आफ्नो लक्ष्यमा पुग्न सकिने बताएका छन्। उनले आफुलाई यसरी नागरिक सम्मान जनाएकोमा युकेएफसी लगायत खरसाङ क्षेत्रका सबै संघ संस्थाहरुलाई धन्यवाद दिएका छन्। कार्यक्रममा युकेएफसीको सचिव महेन्द्र प्रधान, संस्थापक सदस्य कल्याण थिङ आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा अध्यक्षीय सम्बोधन साथै धन्यवाद ज्ञापन युकेएफसीको सभापति केनेट लेप्चाले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामालाई युकेएफसीको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस नागरिक सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युकेएफसी खरसाङका सह सचिव चिराग तिवारीले विस्तृत रुपमा जानकारी गराएका छन्।










