गुवाहाटी: आसाम सरकारले लागूऔषध र अवैध ओसारपसारविरुद्ध चलाएको अभियानमा फेरि एकपल्ट ठूलो सफलता हात पारेको छ। आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाका केही तस्बिरहरू सार्वजनिक गर्दै श्रीभूमि प्रहरीले एउटा ठूलो लागूऔषध नेटवर्कलाई ध्वस्त पारेको जानकारी दिनुभएको हो।
मुख्यमन्त्री शर्माका अनुसार, श्रीभूमि प्रहरीले चलाएको विशेष अपरेसनका क्रममा ११,६९५ बोतल प्रतिबन्धित र नशालु कफ सिरप बरामद गरिएको छ। बरामद गरिएको यस अवैध खेपको बजार मूल्य करिब २ करोड ३४ लाख रुपैयाँ (₹२.३४ करोड) रहेको बताइएको छ। यस अवैध धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ।
मुख्यमन्त्रीले लागूऔषध तस्करहरूलाई कडा चेतावनी दिँदै आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “केही पाठहरू निकै महँगा हुन्छन्। यस लागूऔषध नेटवर्कका निम्ति यसको मूल्य २.३४ करोड रुपैयाँ पर्न गयो। तस्करहरूले जतिसुकै प्रयास गरे पनि आसाम प्रहरीले उनीहरूलाई समात्न त्योभन्दा बढी कडा मिहिनेत र प्रयास गरिरहनेछ।”
मुख्यमन्त्री शर्माले उत्कृष्ट कार्यका निम्ति श्रीभूमि प्रहरी टोलीको उच्च प्रसंशा समेत गर्नुभएको छ। आसाम सरकारले राज्यलाई पूर्ण रूपमा लागूऔषधमुक्त बनाउन ‘आसाम अगेन्स्ट ड्रग्स’ अभियान अन्तर्गत यस्ता कडा कारबाहीहरूलाई निरन्तरता दिँदै आएको छ।











