​जिल्लापाल मङ्गनको अध्यक्षतामा खोप सम्बन्धी ‘जिल्ला टास्क फोर्स’ को महत्त्वपूर्ण बैठक सम्पन्न

ec3be348-dca0-4c63-beb6-0007eadbab9c

मङ्गन: मङ्गन जिल्लाका जिल्ला म्याजिस्ट्रेट-कम-जिल्लापाल श्री अनन्त जैन (आईएएस)-को अध्यक्षतामा हिजो २४ जून २०२६ का दिन जिल्लापालको कार्यकक्ष (चैम्बर)-मा ‘जिल्ला टास्क फोर्स’को एउटा महत्त्वपूर्ण बैठक सम्पन्न भयो।
​यो बैठक मुख्य गरी आगामी २८ जून २०२६ का दिन हुन गइरहेको ‘सघन पल्स पोलियो खोप’ अभियानको तयारी र रणनीतिहरूको समीक्षा गर्नका निम्ति डाकिएको थियो। बैठकमा मङ्गन जिल्लाभरिका सम्पूर्ण योग्य बालबालिकाहरूलाई समेट्ने उद्देश्यले जिल्लाको ‘माइक्रो-प्लान’, बुथहरूको व्यवस्था, मोबाइल तथा ट्रान्जिट टोलीहरूको परिचालन, खोपको आवश्यकता, सुपरिवेक्षण व्यवस्था अनि विभिन्न विभागहरूबीचको आपसी समन्वयबारे विस्तृत रूपमा चर्चा गरियो।
​मङ्गनकी मुख्य चिकित्सा अधिकारी डा. अनिता भुटियाले मङ्गन जिल्लाको माइक्रो-प्लानबारे जानकारी गराउँदै भन्नुभयो कि यसपालिको अभियानमा ० देखि ५ वर्ष उमेर समूहका जम्मा १,९६१ जना बालबालिकाहरूलाई समेट्ने लक्ष्य राखिएको छ। यसका निम्ति जिल्लाभरि ८८ वटा बुथ केन्द्रहरू, २० वटा मोबाइल/ट्रान्जिट टोलीहरू अनि १८१ वटा भाइल खोपको व्यवस्था गरिएको छ।
​बैठकमा जिल्लापालले शत-प्रतिशत (१००%) खोपको लक्ष्य पूरा गर्नु निकै आवश्यक रहेको कुरामा जोड दिनुभयो र यस कार्यक्रमलाई सरलतापूर्वक सफल पार्नका निम्ति सम्बन्धित सबै विभागहरूलाई आवश्यक सहयोग पुर्‍याउने निर्देश दिनुभयो।
​पल्स पोलियो अभियानको समीक्षका साथै राष्ट्रिय सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम अन्तर्गत ‘जिल्ला स्तरीय समन्वय समिति’-को बैठक पनि यसै अवसरमा गरियो। समितिले ‘चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ ऐन, २००३’ को लागू गराइको स्थिति, चेतनामूलक अभियानहरू र जिल्लाभरि सुर्तीजन्य पदार्थ नियन्त्रणका उपायहरूलाई अझ कडा बनाउने विषयमा चर्चा गर्‍यो। जिल्लापालले शिक्षण संस्थाहरू, सार्वजनिक स्थलहरू र कार्यस्थलहरूलाई सुर्तीजन्य पदार्थमुक्त बनाउनका निम्ति सबै सम्बन्धित विभागहरूलाई मिलेर काम गर्न आग्रह गर्नुभयो।
​यसका साथै, सोही सेसनमा क्लिनिकल प्रतिष्ठानहरूको कार्यप्रणाली, दर्ताको स्थिति, नियमहरूको पालन र अनुगमनका विषयमा पनि समीक्षा बैठक बस्यो। जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका निम्ति तोकिएका नियम र कानुनी व्यवस्थाहरूलाई अझ कडा रूपमा पालन गराउने उपायहरूमाथि सदस्यहरूले गम्भीर छलफल गरे।
​उक्त बैठकमा मङ्गन जिल्लाकी मुख्य चिकित्सा अधिकारी डा. अनिता भुटिया, उप-निर्देशक श्रीमती सोनाम ल्हादेन लाचुङ्पा, उप-निर्देशक श्री नेतुक लेप्चा, जिल्ला निगरानी अधिकारी डा. दावा डोल्मा भुटिया, सहायक निर्देशक (सफाई कक्ष) श्री छेवाङ लाछेनपा र विभिन्न विभागका अधिकारीवर्गका साथै स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
​मुख्य चिकित्सा अधिकारीले खोप अभियान, सुर्तीजन्य पदार्थ नियन्त्रण र क्लिनिकल प्रतिष्ठानहरूको नियमनलाई प्रभावकारी ढङ्गमा लागू गर्न सबै सरोकारवालाहरू बीच आपसी समन्वय हुनु कति आवश्यक छ भन्ने कुरामा प्रकाश पार्नुभयो।
​बैठकको अन्तमा धन्यवाद ज्ञापन गरियो र छलफल गरिएका सबै कार्यक्रम तथा गतिविधिहरूलाई सफल पार्न सबै विभागहरू मिलेर काम गर्ने सामूहिक प्रतिबद्धता जनाए।

About Author

Advertisement