काबी: २९-काबी लुङचोक निर्वाचन क्षेत्रका माननीय क्षेत्रीय विधायक एवं सिक्किम सरकारका सल्लाहकार श्री थेन्ले छिरिङ भुटियाको अध्यक्षतामा ‘स्मार्ट मिटर कार्यक्रम’ लागू गर्ने विषयलाई लिएर एउटा महत्त्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ।
मङ्गन जिल्लाको काबी तिङ्दास्थित ब्लक प्रशासनिक केन्द्र-मा आयोजित यस बैठकमा माननीय जिल्ला पञ्चायत सदस्यहरू, सबै ८ वटा जीपीयू र टीसी ग्राम पञ्चायतका माननीय ग्राम पञ्चायत सदस्यहरू, माननीय विधायकका ओएसडी, ब्लक विकास अधिकारी, काबी रोङ्पा जीपीयूका सहायक निर्देशकहरू लगायत अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैठकको सुरुमा काबीका ब्लक विकास अधिकारीले आफ्नो स्वागत मन्तव्य राख्दै माननीय क्षेत्रीय विधायक, माननीय जिल्ला पञ्चायत सदस्य, माननीय ग्राम पञ्चायत सदस्य, ओएसडी र उपस्थित सबै अतिथिहरूलाई हार्दिक स्वागत जनाउनुभयो।
यसपछि, ओएसडीले आफ्नो सम्बोधनमा स्मार्ट मिटरको महत्त्व र आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँले माननीय जिल्ला पञ्चायत र ग्राम पञ्चायत सदस्यहरूलाई तल्लो स्तर (ग्राससूट लेबल) सम्म पुगेर जनतामा यसबारे चेतना फैलाउन आग्रह गर्नुभयो। ओएसडीले आगामी अक्टोबर २०२६ सम्ममा सबै घरधुरीहरूमा स्मार्ट मिटर जडान गर्ने काम पूरा गरिसक्नुपर्ने जानकारी पनि सदनलाई गराउनुभयो।
माननीय विधायक श्री थेन्ले छिरिङ भुटियाले आफ्नो सम्बोधनमा स्मार्ट मिटर कार्यक्रमको महत्त्वबारे बताउँदै अब पुरानो परम्परागत प्रविधिमा मात्र अल्झिनु भन्दा नयाँ र आधुनिक प्रविधितर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले २९-काबी लुङचोक निर्वाचन क्षेत्रभित्र तोकिएको समयमै स्मार्ट मिटर जडानको काम पूरा गर्नका निम्ति सबै सरकारी अधिकारीहरू, पञ्चायत प्रतिनिधिहरू र सीएलसी सदस्यहरूलाई पूर्ण सहयोग पुर्याउन अपिल गर्नुभयो।
बैठकको अन्तमा ०१-काबी रोङ्पा जीपीयूका जिल्ला पञ्चायत सदस्य श्री पेमा वाङ्गेल भुटियाले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएपछि बैठक विधिवत् रूपमा समाप्त भयो।









