गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले उत्तर सिक्किम क्षेत्रको भ्रमण गरी त्यहाँको सडक पूर्वाधारको अवस्थाबारे जानकारी लिएको छ। हालैका दिनमा सडक मार्गमा देखिएका विभिन्न समस्या र स्थानीय बासिन्दाका गुनासोहरूलाई सम्बोधन गर्ने उद्देश्यले प्रदेश प्रवक्ता साङ्गे ग्याछो भोटियाको अगुवाइमा उक्त टोलीले त्यस क्षेत्रको स्थलगत भ्रमण गरेको हो।
भ्रमणका क्रममा भाजपा टोलीले ‘१०७ रोड कन्स्ट्रक्सन कम्पनी’ ग्रेफ का अफिसर कमान्डिङ लेफ्टिनेन्ट कर्नल रवीश अत्रीसँग भेटवार्ता गरेको छ। भेटमा जिल्लावासीहरूले दैनिक रूपमा सामना गरिरहेका सडक सम्पर्कका चुनौतीहरू र पूर्वाधार सुधारका लागि भइरहेका प्रयासहरूबारे विस्तृत छलफल भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
भाजपा प्रतिनिधमण्डलले उत्तर सिक्किम राजमार्गको रणनीतिक एवं नागरिक महत्त्वमाथि विशेष जोड दिएको छ। टोलीले यो राजमार्ग सीमावर्ती गाउँहरूलाई राज्यको बाँकी भूभागसँग जोड्ने एकमात्र मुख्य सडक मार्ग रहेको स्पष्ट पारेको छ। यसका साथै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा तैनाथ रक्षा बलहरूको आवतजावत र रसद सामग्री आपूर्ति सुनिश्चित गर्न पनि यो मार्गको ठूलो रणनीतिक महत्त्व रहेको टोलीले प्रकाश पारेको छ।

भाजपा टोलीद्वारा उठाइएका चिन्ताहरूलाई स्वीकार गर्दै लेफ्टिनेन्ट कर्नल रवीश अत्रीले उत्तर सिक्किममा यातायात सम्पर्क टुट्न नदिन आफूहरू गम्भीर रहेको बताएका छन्। भौगोलिक जटिलता र प्रतिकूल मौसमका बाबजुद १०७ आरसीसी (ग्रेफ) का प्राविधिक तथा कर्मचारीहरूले चौबीसै घण्टा अथक प्रयास गरिरहेको उनले जानकारी दिए। रक्षा मन्त्रालयमार्फत भारत सरकार उत्तर सिक्किमको सडक सञ्जाललाई सुदृढ र सुरक्षित बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले आश्वस्त पारेका छन्।
अफिसर कमान्डिङ अत्रीका अनुसार भारत सरकारको महत्त्वाकाङ्क्षी ‘भारतमाला पहल’ अन्तर्गत सिक्किमका सीमावर्ती क्षेत्रहरूमा हाल धेरै सडक पूर्वाधार परियोजनाहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन्। भ्रमणको अन्त्यमा भाजपा प्रतिनिधिमण्डलले कठिन परिस्थितिमा पनि सीमा क्षेत्रमा खटिएका ग्रेफका कर्मचारीहरूको समर्पणको प्रशंसा गर्दै उत्तर सिक्किमका जनताका लागि उन्नत कनेक्टिभिटी र दिगो विकास सुनिश्चित गर्न दलका तर्फबाट निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।










