खरसाङ: अनित थापाले साहस गरेर जातिको लागि जीटीएबाट राजीनामा दिएका छन् भनी बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले हाल जीटीए सकिएको मात्रै हो र अनित थापाले केवल जीटीए प्रमुखबाट राजीनामा मात्रै दिएको तर क्षेत्रीयता भने जीवितै रहेको बताएका छन्। उनले भने, पहाडको जनताले हरेस खानु हुँदैन किनभने हामीले क्षेत्रीयता बचाउनुपर्छ। तर क्षेत्रीयता कसरी बचाउनु पर्छ त्यो हामीले मात्र पहल गर्नुपर्छ। हामीले क्षेत्रीयता बचाउन दागा धर्नेलाई होइन, किट्छु पिट्छु भन्नेलाई होइन र आफ्नै गुरुलाई खेदाउनेलाई होइन तर सोचेर बुझेर साथ दिएर क्षेत्रीयता बचाउनुपर्छ।’
पेम्बा रिम्पोर्छेले जीटीएमा छानबीन हुनुपर्छ भन्दै अहिलेको जीटीएको मात्रै होइन तर पहिलेको जीटीए साथै 2009 मा आएको आँधी बेह्री ‘आईला’ को समयदेखि नै जाँच हुनुपर्छ भनी माग गरेका छन्। उनले जीटीएको छानबीनलाई लिएर जनताले पनि स्वागत गर्नुपर्छ। तर सबैको हिसाब किताब हुनुपर्छ भनी माग गरेका छन्।
पेम्बा रिम्पोर्छेले अघि भने, ‘अब डबल इञ्जिनको सरकारले गोर्खाहरुलाई केही दिन्छ भन्ने आशा छ। डबल इञ्जिन मात्र होइन यहाँ त्रिपल ईञ्जिनको सरकार भएको छ र भाजपा सरकारले गोर्खा जातिको लागि के दिनसक्छ हामी स्वागत गर्न तयार छौँ। तर जीटीए अनित थापा र बिनय तामाङले थापेको होइन।’









