गोर्खाहरुको लागि स्थायी राजनैतिक समाधान आउँदैछ: बिमल गुरुङ
खरसाङ: गोजमुमो अध्यक्ष बिमल गुरुङले पहाड तराई र डुवर्सका लागि राजनीतिक समाधान आउँदैछ। राजनैतिक समाधानको लागि हामी गोर्खाहरु एकबध्द हुनुपर्छ भनी बताएका छन्। उनले भने, अब हामी एक भएर काम गर्नुपर्छ। गोर्खाको शिर उच्च पार्नुपर्छ। गोर्खाको शिर ढल्न दिनु हुँदैन। गोजमुमोले कहिले पनि गोर्खाको शिर ढल्ने काम गरेन। २०१७ देखि जनतामा बाध्यता थियो। नेताको समर्थन गरेन भने जेल हाल्ने, पुलिस लगाउने चलन थियो। सबैजनाले तृणमूलको कि भाजपाको झण्डा समाउनु पर्ने बाध्यता थिय। तर अहिले परिस्थिति अर्कै भएको छ र अब हामी एक भएर जातिको लागि काम गर्नुपर्छ।’

गुरुङले भने, अब सबैलाई एक साथमा राखेर काम गर्नुपर्छ। सबैलाई लकै नजरले हेर्नुपर्छ। भाई भतिजाबाद गर्नु हुँदैन। गोजमुमोको बदनाम नहोस्। गोर्खाको बदनाम नहोस्।’
गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङले आज तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुको भ्रमण गरेका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङ हालमा खरसाङ क्षेत्रमा बसेर विभिन्न स्थानहरुको भ्रमण गरिरहेका छन्। यस क्रममा मोर्चा अध्यक्ष बिमल गुरुङले तीनधारे महानदी समष्टिको बाघमारा बस्ती, सिविटार, १२ नम्बर, हुँदै गिताङ्गे, शिवखोला, सिमरिङ, मालुटार चियाबारीको फागुटारसम्मको भ्रमण गरेका थिए। उनी सिविटारको गैरी गाउँमा केही बसेका थिए भने गिताङ्गे चियाबारीमा केही क्षण पैदल यात्रा पनि गरेका थिए। यसावधि उनले स्थानीयहरुसित भेटघाट गर्दै विभिन्न समस्याहरु पनि बुझेका थिए भने स्थानीयहरुले उनलाई विभिन्न भ्रष्टाचार भएको जानकारी गराएका थिए। यस क्रममा गिताङ्गेको बाटो विषयमा ईञ्जिनियरसित बातचीत पनि गरेका थिए। पार्टी अध्यक्ष बिमल गुरुङको उपस्थितिमा गिताङ्गे चियाबारीको तल्लो गाउँमा पार्टीको सांगठनिक सभा पनि सम्पन्न भएको थियो। त्यसरी नै उनी शिवखोला, सिमरिङ हुँदै मालुटार चियाबारीको फागुटारसम्मको पुगेर भ्रमण गर्दै स्थानीयहरुसित भेटघाट गर्दै विभिन्न समस्याहरु पनि सुन्ने काम गरेका थिए। यस क्रममा उनले फागुटारमा सार्वजनिक भवन निर्माण गरिदिने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। त्यसपछि उनी सिपाहीधुरा चियाबारी पुगेका थिए। गोजमुमो अध्यक्ष बिमल गुरुङको भ्रमणको समयमा गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, तीनधारे महानदी समष्टिको सभापति आईतमान राई, युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान छेत्री, सचिव अरुण थापा, युवा मोर्चा केन्द्रीय सदस्य योगराज प्रधान लगायत अन्य पदाधिकारीहरु पनि उपस्थित रहेका थिए।











