सिक्किमका सांसद इन्द्रहाङ सुब्बाद्वारा सक्रिय सहभागिता
नयाँ दिल्ली: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा आयोजित संयुक्त संसदीय समिति (जेपीसी)-को एउटा महत्त्वपूर्ण अध्ययन भ्रमण र परामर्श कार्यक्रममा सक्रिय सहभागिता जनाउनु भएको छ।
सांसद सुब्बा हाल भारतीय संसद्को ‘संविधान (१३०औँ संशोधन) विधेयक’, ‘जम्मु र कश्मिर पुनर्गठन (संशोधन) विधेयक, २०२५’ र ‘केन्द्रशासित प्रदेश सरकार (संशोधन) विधेयक, २०२५’- को सूक्ष्म जाँचबुझ गरिरहेको संयुक्त संसदीय समितिका एक प्रमुख सदस्य हुनुहुन्छ।
सांसद एवं जेपीसी अध्यक्ष श्रीमती अपराजिता सारङ्गीको अध्यक्षतामा भएको यस अध्ययन भ्रमणका क्रममा समितिले दिल्ली सचिवालयमा विभिन्न सरोकारवालाहरूसँग चरणबद्ध कुराकानी र छलफल गरेको छ।
कार्यक्रम अवधिभर समितिले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीटी) सरकार, केन्द्रीय गृह मन्त्रालय, कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधिहरूका साथै राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी), गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय र ‘कमन कज’ नामक नागरिक समाज सङ्गठनका प्रतिनिधिहरूसँग गहन विचार-विमर्श गरेको बुझिएको छ। यसका साथै समितिले दिल्लीका मुख्यमन्त्रीसँग पनि भेट गरी प्रस्तावित कानुनी संशोधनका प्रभाव, शासन व्यवस्था र प्रशासनिक मामिलाहरूमाथि विस्तृत छलफल गरेको छ।
यी महत्त्वपूर्ण विधेयकहरूको व्यापक समीक्षा गर्न र संसद्मा ठोस सिफारिसहरू प्रस्तुत गर्नका लागि समितिको यो अध्ययन भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ।










