मन्त्रीद्वय मनोज कुमार उराँव अनि दीपक बर्मनको उपस्थिति
अलिपुरद्वार: डुअर्सको पर्यटकीय अनि पर्यावरणको दृष्टिले अति नै महत्त्वपूर्ण क्षेत्र जलदापाडामा आज राज्यका वन मन्त्री श्री मनोज कुमार उराँव र शिक्षा मन्त्री श्री दीपक बर्मनको विशेष उपस्थितिमा एउटा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। उक्त महत्वपूर्ण बैठकमा अलिपुरद्वारका जिल्ला शासक, पुलिस अधीक्षक लगायत वन विभागका वरिष्ठ अधिकारीवर्ग अनि अन्य प्रशासनिक उच्चाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
बैठक अवधि वन क्षेत्रको संरक्षण, वन्यजीवहरूको सुरक्षा, क्षेत्रमा दिनानुदिन बढ्दै गइरहेको मानव-वन्यजीव संघर्ष को रोकथाम, पर्यावरणको रक्षा अनि यस क्षेत्रको समग्र विकास जस्ता कतिपय गम्भीर विषयहरूमाथि विस्तृत रूपमा चर्चा-परिचर्चा गरियो। यसका साथै उपस्थित अधिकारीहरूसँग सरसल्लाह गरी आगामी दिनहरूमा चालिने ठोस कदम र भविष्यको कार्ययोजनाबारे पनि महत्त्वपूर्ण निर्णयहरू लिइएको बुझिएको छ।
बैठकपछि मन्त्रीपक्षबाट भनिएको छ कि प्रकृति र वन सम्पदाको रक्षा गर्नुका साथै स्थानीय जनताको हित र अधिकारलाई पनि उत्तिकै ध्यानमा राख्नु आवश्यक छ। यसै कुरालाई मध्यनजर राख्दै आगामी दिनहरूमा सबै विभाग मिलेर आपसी समन्वयका साथ काम गर्न र वन संरक्षणको प्रयासलाई अझ मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा प्रकाशमा आएको छ।









