खरसाङ: खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। जीटीए प्रमुखको पदबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले राजीनामा दिएको लगत्तैपछि अनु छेत्रीले पनि खरसाङ पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिएका छन्। एउटा भिडियो जारी गर्दै अनु छेत्रीले खरसाङ पञ्चायत समिति सभापतिको आफ्नो पदबाट राजीनामा दिन्दै भनिन् , ‘राज्यमा नयाँ सरकार गठन भएपछि गोर्खा जातिको दीर्घकालीन मांग पूरा गर्ने राम्रो मौका रहेको छ। किनभने केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार बनिएको छ। जनताले पनि यसैको लागि भाजपालाई जिताएको र न्याय पाउने आशा गरेका छन्।’
उनले अघि भनिन् ‘समस्त पहाडले, २००९ देखि नै भाजपालाई समर्थन गर्दै आएको छ। अब भाजपाले गोर्खा जातिलाई न्याय दिने समय आएको छ। पार्टी अध्यक्ष अनित थापाले जीटीए प्रमुख र सभासद पदबाट पनि राजीनामा दिएर गोर्खा जातिको माग पूरा गरिदिनलाई सरकार समक्ष बाटो खोलिदिएका छन्। पार्टी अध्यक्ष अनित थापाको यही निर्णयलाई सही मान्दै मैले पनि खरसाङ पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिईरहेको छु।’
अनु छेत्रीले अझ भनिन् ‘अब भाजपाको नयाँ सरकारले गोर्खा जातिलाई अवश्य पनि न्याय दिनेछ भन्ने आशा छ। त्यही आशा पूरा होस् भनेर नै आफ्नो पदबाट राजीनामा दिएकी छु।’









