केही दिनमा भाजपाले बोर्ड गठन गर्न सक्ने सम्भावना
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड रहेको खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड पनि ढलेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शक्तिशाली मानिएको खरसाङमा पनि बोर्ड ढलेको छ। बुधवार खरसाङ खण्ड पञ्चायत समितिको ५ जना कर्माध्यक्षसहित जम्मा ११ जना पञ्चायत समिति सदस्य सदस्याहरुले सामुहिक रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। बुधवार राजीनामा दिने खरसाङ पञ्चायत समितिको ५ जना कर्माध्यक्षहरु क्रमैले दावा वाङ्दी लामा, बीरेन तामाङ, सुकमान उराव, साजन दर्जी र प्रमिला तामाङ रहेका छन्। त्यसरी नै पञ्चायत समिति सदस्य सदस्याहरु क्रमैले चन्द्रप्रकाश शर्मा, अम्बर मिजार, विकास थापा, बबी तामाङ, अनिरा तामाङ र दिक्षा छेत्री गरेर ११ जना पञ्चायत समिति सदस्य सदस्याहरुले सामुहिक रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पद र साधारण सदस्यबाट पनि राजीनामा दिएको पञ्चायत समिति सदस्य एंव कर्माध्यक्ष दावा वाङ्दी लामाले जानकारी दिएका छन्। यसमा खरसाङ पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले पहिलाबाट नै राजीनामा दिएका थिए। ३१ जना रहेको खरसाङ पञ्चायत समितिको बोर्डमा १२ जनाले पार्टीबाट राजीनामा दिएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा केवल १४ जना मात्र रहेका छन्। खरसाङ पञ्चायत समितिमा भाजपाको ५ जना पञ्चायत सदस्य सदस्याहरु पहिलेबाट नै रहेकोले अब भाजपाको पक्षको जम्मा १७ जना भएका छन् र भाजपाले बोर्ड गठन गर्न सक्ने क्षमता देखिएको छ। अब कुनै पनि समय भाजपाले खरसाङ पञ्चायत समितिको बोर्ड गठन गर्ने सम्भावना देखिएको छ।









