कोलकाता: कोलकाताको मुटुमा विशेष र दिव्यांग नानीहरूको भविष्य सुधार्न एउटा ठूलो काम भएको छ। विशेष नानीहरूलाई शिक्षा, खेलकुद र उनीहरूको खुट्टामा उभिन सिकाउने सामाजिक संस्था ‘उनमिष’ की कर्णधार नीता दीवान र ‘विशेष ओलम्पिक भारत’ की अध्यक्ष डा. मल्लिका नड्डाले आपसमा हात मिलाउँदै एउटा ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यस अवसरमा डा. नड्डाले भन्नुभयो कि अबदेखि यी दुवै संस्थाहरू मिलेर दिव्यांग नानीहरूलाई समाजको मुख्य धारामा ल्याउन र उनीहरूको भित्री प्रतिभालाई निखार्न कम्मर कसेर लाग्नेछन्। स्वास्थ्य र शिक्षा नै जीवनको असल जग हो भन्दै उहाँले खेलकुदको माध्यमबाट नानीहरूको आत्मबल बढाउने कुरामा जोड दिनुभयो।कार्यक्रममा भावुक बन्दै ‘उनमिष’ की निर्देशिका नीता दीवानले भन्नुभयो कि आज उहाँको वर्षौंदेखिको सपना पूरा भएको छ। आफ्नै विशेष छोरा निकुञ्जबाट प्रेरणा पाएर यो अभियान सुरु गरेको सम्झँदै उहाँले सबै आमाबाबुहरूलाई आफ्ना विशेष नानीहरूलाई नलुकाएर समाजमा खुलेर स्वीकार गर्न र आत्मनिर्भर बनाउन अपील गर्नुभयो। संस्थामा अबदेखि नानीहरूका लागि ‘हाइड्रोथेरापी’ र खेलकुदका नयाँ सुविधाहरू पनि सुरु गरिएको छ। पद्मश्री सज्जन भजनका लगायत दार्जीलिङ र बंगालका थुप्रै गणमान्य व्यक्तित्वहरू, जस्तै अभिनेता अर्जुन चक्रवर्ती र आलोका नन्दा रायको उपस्थिति रहेको यस कार्यक्रमले विशेष नानीहरूको जीवनमा एउटा नयाँ बिहानी ल्याउने विश्वास जगाएको छ।










