२१२औँ राष्ट्रिय स्तरको भानु जयन्ती समारोह २०२६ को तयारी तीव्र

ed635da0-1ab4-43ba-a35e-909563eecf17

सोरेङ जिल्लामा आकर्षक पुरस्कार सहितको रामायण पाठ प्रतियोगिता हुने

नाम्ची: आगामी २१२औँ राष्ट्रिय स्तरको भानु जयन्ती समारोह २०२६ लाई भव्य र ऐतिहासिक रूपमा मनाउनका लागि आज नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा एक महत्त्वपूर्ण पूर्वतयारी बैठक सम्पन्न भएको छ। बैठकमा आगामी भानु जयन्तीका विविध कार्यक्रम तथा व्यवस्थापकीय पक्षहरूमाझ विस्तृत छलफल र समीक्षा गरिएको थियो। यस वर्षको राष्ट्रिय स्तरको भानु जयन्ती समारोहकै एक विशेष हिस्साका रूपमा सोरेङ जिल्लामा ‘जिल्ला स्तरीय रामायण पाठ प्रतियोगिता’ आयोजना गरिने र यो अभियान आगामी १३ जुलाईका दिन समापन हुने बैठकमा जानकारी दिइयो।
​यस पटक आयोजना हुन गइरहेको रामायण पाठ प्रतियोगितामा उमेर र लिङ्गको कुनै बन्देज राखिएको छैन। प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूका साथै आम सर्वसाधारणले पनि खुला रूपमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा भाग लिने टोलीहरूले भानुभक्तकृत रामायणको ‘सुन्दर काण्ड’ वा ‘युद्ध काण्ड’ मध्ये कुनै एक भागबाट रामायण पाठ प्रस्तुत गर्नुपर्ने नियम बनाइएको छ। प्रतियोगितालाई व्यवस्थित र निष्पक्ष बनाउनका लागि केही विशेष निर्देशिकाहरू पनि जारी गरिएका छन्। जसअनुसार प्रत्येक टोलीमा अनिवार्य रूपमा १० जना सदस्य हुनुपर्नेछ भने उनीहरूले प्रस्तुतिको समयमा अनिवार्य रूपमा आफ्नो परम्परागत सांस्कृतिक पहिरन लगाउनुपर्नेछ।
​मञ्चमा प्रस्तुति सुरु गर्नुअघि सहभागी टोलीले आफूले वाचन गर्न लागेको रामायणको श्लोक वा अध्यायको बारेमा निर्णायक मण्डललाई अग्रिम जानकारी गराउनुपर्नेछ। प्रत्येक टोलीलाई रामायण पाठका लागि ५ मिनेटको समय दिइनेछ र तोकिएको समयभन्दा बढी लागेमा अङ्क कट्टा गरिनेछ। त्यस्तै प्रस्तुति अगाडि वाद्यवादन मिलाउन र मञ्च व्यवस्थापनका लागि प्रत्येक टोलीलाई थप २ मिनेटको समय उपलब्ध गराइनेछ। यस प्रतियोगितामा प्रत्येक जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने एक-एक वटा टोलीलाई मात्र अर्को माथिल्लो स्तरको प्रतियोगिताका लागि छनोट गरिने प्रावधान रहेको छ।
​प्रतियोगितालाई थप उत्साहजनक बनाउन आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगर एक लाख रुपियाँ प्राप्त गर्नेछ भने द्वितीय र तृतीय स्थान ओगट्ने टोलीले क्रमशः असी हजार र साठ्ठी हजार रुपियाँ पुरस्कार स्वरूप पाउनेछन्। सहभागीहरूको प्रस्तुतिलाई कूल १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिनेछ, जसमा मञ्च प्रस्तुति, साहित्यिक गुणस्तर, रचनात्मकता, लय, धुन, स्वर, आत्मविश्वास, पहिरन तथा अनुशासनलाई मुख्य आधार मानिनेछ। आज सम्पन्न यस महत्त्वपूर्ण तयारी बैठकमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु कुमार शर्मा, नाम्चीकी जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल सुभाष घिमिरेका साथै नाम्ची जिल्लाका महकुमा अधिकारी र ओएसडीहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement