एमपील्याड्स कोषबाट ५ लाखको सहयोग
दराप: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको बाहुलीबाट दरापको लेबुन्बा पुङ्वा नी इङ्ग युकमा नव-निर्मित ल्याम्प हाउसको विधिवत् उद्घाटन सम्पन्न भएको छ। यस महत्वपूर्ण परियोजनाको निर्माणका निम्ति सांसद सुब्बाको एमपील्याड्स योजना अन्तर्गत ५ लाख रूपियाँको आर्थिक सहयोग प्रदान गरिएको थियो।

विशेष अनुष्ठान अनि आध्यात्मिक गरिमा बोकेको यस उद्घाटन कार्यक्रममा सिकुम सियोङ सेप्सिङ युमा माङ्गको गरिमामय उपस्थिति रहेको थियो। यसका साथै, कार्यक्रममा एसटीसीएसका सल्लाहकार डिल्लीराम लिम्बू, युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रका विधायकका ओएसडी बसन्त तामाङ र युमा माङ्ग मङ्गहिम निर्माण समितिका सदस्यहरू लगायत स्थानीय जनसमुदायको बाक्लो उपस्थिति थियो।

यस ल्याम्प हाउसको उद्घाटनले दराप क्षेत्रका रैथाने समुदायको आध्यात्मिक अनि सांस्कृतिक परम्परालाई अझ सुदृढ र मजबुत बनाउने दिशामा एउटा ठूलो कोसेढुङ्गो साबित गर्ने विश्वास व्यक्त गरिएको छ। आगामी दिनहरूमा यस पवित्र स्थलले भावी पुस्ताका निम्ति एउटा बलियो श्रद्धा, आस्था र भक्तिको केन्द्रका रूपमा काम गर्ने आशा प्रकट गरिएको छ।










