खरसाङ: भुजेल सांस्कृतिक एवं कल्याण संगठनको आयोजनामा खरसाङमा शिक्षा सम्वर्ध्दना कार्यक्रम २०१६ एंव प्रदिपकुमार खवासद्वारा लिखित ‘भुजेल जातिको पृथकीकरण र यसका अवयवा’ नामक पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संगठनको सभापति प्रदिप खवासले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी बिक्रम राई, सुनिल प्रधान, साहित्यकारहरु क्रमैले डिकु मुखिया, साजन मोक्तान, राजेन खवास ‘प्रयासी’, नेपालबाट आएका नारायण थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई संगठनको महासचिव रजिन खवासले सञ्चालन गरेका थिए। अतिथिहरुको बाहुलीबाट धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण एंव कार्यक्रमको औचित्य विषयमा संस्थापक सभापति प्रदिपकुमार खवासद्वारा सम्भाषण राखिएको थियो। यसै कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएसई, सीबीएससी अब्बल दर्जामा उत्तीर्ण भुजेल जातिका विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइएको थियो। कार्यक्रममा भुजेल जातिको विभिन्न विषयमा विशिष्ट अतिथिको रुपमा उपस्थित नेपालबट आएका नारायण भुजेलले वक्तव्य राखेका थिए।कार्यक्रममा प्रदिपकुमार खवासद्वारा लिखित ‘भुजेल जातिको पृथकीकरण र यसका अवयवा’ नामक पुस्तकको सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र लेखकलो बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा जाति र विकासको लागि सबै जात गोष्ठीलाई लिएर अघि बढ्नुपर्छ र सबैलाई एकबध्द बनाएर अघि बढ्नुपर्छ भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, प्रदिप खवासले भुजेल जातिको लागि राम्रो काम गर्नु भएको छ। म जातिको विकास बोर्डलाई लिएर नकरात्मक र सकरात्मक कुरामा केवल सकारात्मक कुरालाई मात्र लिएर अघि बढ्न चाहान्छु। अहिले मलाई अचानक खरसाङको ठूलो जिम्मेवारी पाएको छु। म मेरोमा कममा सय प्रतिशत दिन चाहान्छु।’

विधायक सोनाम लामाले अघि भने, ‘हामी विभिन्न जात गोष्ठीमा भए पनि हामी एउटा सिंगो गोर्खा हौं। हामी भारतमा अल्पसंख्यक रुपमा छौं र भारतमा गोर्खा जातिको पहिचान र परिचयको लागि संघर्षरत् छौं। यसको लागि सबै एकसाथ अघि बढ्नुपर्छ।’
कार्यक्रममा विशिष्ट अतिथिहरु समाजसेवी बिक्रम राई, नेवार विकास बोर्डका पूर्व चेयरम्यान सुनिल प्रधानले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विधायक सोनाम लामा, विशिष्ट अतिथिहरु सबैलाई आयोजक समितिको तर्फबाट सम्मान जनाउँदै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरिएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भुजेल सांस्कृतिक एवं कल्याण संगठनको संस्थापक अध्यक्ष प्रदिपकुमार खवासले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।











