“मानवताको एक थोपा रगत दिनुहोस्, जीवन बचाउनुहोस्” भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रम सम्पन्न
लिङ्गी: लिङ्गी सिनियर सेकेन्डरी स्कूलमा आज बिहानको प्रार्थना सभा (मर्निङ एसेम्बली) को समयमा ‘विश्व रक्तदाता दिवस’ अगावै पालन गरियो। स्वेच्छिक रक्तदानको महत्त्व र यसले समाजमा पुर्याउने जीवनदायी प्रभावबारे विद्यार्थीहरूमा सचेतना फैलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको थियो। आगामी १४ जूनका दिन विश्व रक्तदाता दिवस परे तापनि उक्त दिन बिदा हुने भएकाले विद्यालयले आजै यो दिवस पालन गरेको कुरा एउटा प्रेस विज्ञप्ति मार्फत थाहा लागेको छ। “मानवताको एक थोपा रगत दिनुहोस्, जीवन बचाउनुहोस्” (वन ड्रॉप ऑफ हुमानिटी – गिव ब्लड सेव लाइफ) भन्ने मूल नाराका साथ आयोजित यस सचेतना कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रह्लाद शर्माको मार्गनिर्देशनमा सम्पन्न भयो, जसमा उप-प्रधानाध्यापक पेन्छुङ भुटिया, शिक्षक शिक्षिकाहरू अनि नोडल शिक्षकद्वय प्रकाश तिवारी र करुणा छेत्रीका साथै विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
यस अवसरमा कक्षा ९ की छात्रा कट्रिना बेथ लिम्बूले रक्तदानको महत्त्वमाथि प्रकाश पार्दै एउटा जानकारीमूलक वक्तव्य प्रस्तुत गरिन्। आपतकालीन अवस्था र उपचारका क्रममा दान गरिएको रगतको एक इकाईले पनि कसरी कयौँको ज्यान बचाउन सक्छ भन्ने कुरा उनले आफ्नो भाषणमा प्रष्ट पारिन्। यसका साथै उनले अन्य साथीहरूलाई पनि यस पुण्य कार्यबारे सचेतना फैलाउन अनि मानवता र सेवाको भावना विकास गर्न प्रेरित गरिन्। अर्कातर्फ, विद्यार्थीहरूलाई सम्बोधन गर्दै नोडल शिक्षक प्रकाश तिवारीले स्वेच्छिक रक्तदानको महत्त्वमाथि विशेष जोड दिए। उनले रक्तदान अरूलाई मद्दत गर्ने सबैभन्दा सजिलो तर निकै अर्थपूर्ण माध्यम भएको कुरा बताए। उनले समाजलाई स्वस्थ र मायालु बनाउनका लागि यस्ता सचेतनामूलक अभियानहरूमा सबैलाई सहयोग गर्न र आफ्नो योगदान पुर्याउन आह्वान पनि गरे। यस छोटो सचेतना कार्यक्रमले विद्यार्थीहरूमा रक्तदानको मूल्यबारे राम्रो ज्ञान भर्ने काम गर्यो भने दान गरिएको रगतको प्रत्येक थोपामा जीवन बचाउने शक्ति हुन्छ भन्ने सन्देशलाई फेरि एकपल्ट उजागर गर्यो। विद्यार्थीहरूमा मानवीय मूल्य र सामाजिक जिम्मेवारीको भावनालाई अझ सुदृढ पार्ने संकल्पका साथ कार्यक्रमको समापन भएको विज्ञप्तिमा उल्लेख छ।










