नयाँ दिल्लीमा नीति आयोग र उत्तर-पूर्वी राज्यहरूबीच उच्च स्तरीय बैठक सम्पन्न

FB_IMG_1781290102611

सिक्किमलाई सन् २०४७ सम्म ७० बिलियन डलरको अर्थतन्त्र बनाउने मुख्यमन्त्रीको घोषणा

​नयाँ दिल्ली: सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा आयोजित नीति आयोग एवं उत्तर-पूर्वी राज्यका मुख्यमन्त्रीहरू र मुख्य सचिवहरूबीचको विशेष अन्तर्क्रियात्मक कार्यक्रममा भाग लिनुभयो। उक्त महत्त्वपूर्ण बैठकमा भाग लिएपछि मुख्यमन्त्री गोलेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत केही तस्बिरहरू साझा गर्दै सिक्किमको प्रगति र आगामी लक्ष्यहरूबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको छ।
​अन्तर्क्रियाका क्रममा मुख्यमन्त्री गोलेले सिक्किमले हालैमा हासिल गरेको ‘पूर्ण साक्षर राज्य’-को ऐतिहासिक उपलब्धि, पर्यावरण संरक्षणको क्षेत्रमा भइरहेका कार्यहरू र ‘सिक्किम भिजन २०४७’ अन्तर्गत शिक्षा, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य अनि दिगो विकासका क्षेत्रमा चालिएका नवीन कदमहरूबारे केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो। नवप्रवर्तन, उद्यमशीलता र तथ्यमा आधारित सुशासनका माध्यमबाट सिक्किमको अर्थतन्त्रलाई आगामी दिनमा ७० बिलियन अमेरिकी डलर पुर्‍याउने राज्यको ठुलो लक्ष्य रहेको कुरा उहाँले बैठकमा राख्नुभयो। यसका साथै सिक्किमलाई स्वास्थ्य सेवा, वेलनेस र उच्च-मूल्यको पर्यटनको क्षेत्रमा विश्वकै एक अग्रणी गन्तव्यको रूपमा स्थापित गर्ने आकांक्षा पनि उहाँले व्यक्त गर्नुभयो।
​राज्यका प्रमुख विकासमूलक प्राथमिकताहरूमाथि जोड दिँदै मुख्यमन्त्री गोलेले सिक्किमको सडक, हवाई, रेल र डिजिटल कनेक्टिभिटीलाई अझ मजबुत बनाउनका निम्ति केन्द्र सरकार र नीति आयोगसँग विशेष सहयोगको माग राख्नुभएको छ। यस अन्तर्गत पाकिम विमानस्थलमा नियमित उडान सेवा पुनः सुचारु गरिनुपर्ने, सिभोक-राङ्पो रेल परियोजनाको कामलाई द्रुत गतिमा पूरा गरिनुपर्ने र सिक्किमलाई राष्ट्रिय यातायात सञ्जालसँग जोड्नका निम्ति स्तरोन्नति भइरहेको बागडोगरा विमानस्थलसम्म प्रस्तावित रेल सेवा विस्तार गरिनुपर्ने माग उहाँले दृढताका साथ अघि सार्नुभयो।
​यसका साथै, उत्तरी सिक्किममा जलवायु-अनुकूल पूर्वाधार निर्माणको आवश्यकता, उत्तर-पूर्वी औद्योगिक तथा लगानी प्रवर्द्धन नीतिलाई सन् २०२७ भन्दा पछि पनि विस्तार गरिनुपर्ने, सीमा व्यापार पूर्वाधारलाई सुदृढ बनाइनुपर्ने र राज्यले भोगिरहेको जनसाङ्ख्यिकीय चुनौतीहरू तर्फ विशेष ध्यान दिनुपर्ने कुरामा मुख्यमन्त्री गोलेले जोड दिनुभयो। ‘विकसित भारत @२०४७’ को राष्ट्रिय संकल्पप्रति सिक्किम पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा दोहोर्‍याउँदै भारत सरकार र नीति आयोगको निरन्तर सहयोगले सिक्किम आगामी दिनमा एक समावेशी, उत्थानशील र दिगो विकासको उत्कृष्ट नमूना बनेर उभिने विश्वास मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ।

About Author

Advertisement