६० पदक र ५ ‘बेस्ट एथलिट’ उपाधिसहित केआईएससीई को ऐतिहासिक वर्चस्व
गान्तोक: सिक्किम एथलेटिक्स एसोसिएसनको आयोजनामा गत ४ देखि ६ जुनसम्म रेशीथाङ स्पोर्ट्स कम्प्लेक्समा आयोजित १७औं सिक्किम राज्य अन्तर-जिल्ला एथलेटिक्स मीट २०२६ भव्य रूपमा सम्पन्न भएको छ। यस प्रतियोगितामा खेलो इन्डिया स्टेट सेन्टर अफ एक्सीलेन्स (केआईएससीई) सिक्किमका खेलाडीहरूले राज्यका सबै छवटै जिल्लाको प्रतिनिधित्व गर्दै ऐतिहासिक र असाधारण प्रदर्शन गरेका छन्। केआईएससीई सिक्किमको तर्फबाट खेलकुद मैदानमा उत्रिएका जम्मा २१ जना एथलिटहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्दै कुल ६० वटा पदक आफ्नो नाम गर्न सफल भए, जसमा ३७ स्वर्ण, २० रजत र ३ कांस्य पदक सामेल छन्। खेलाडीहरूको यो सानदार सफलताले राज्यमा खेलो इन्डियाको वर्चस्वलाई पुनः प्रमाणित गरेको छ।
पदक तालिकामा पूर्ण रूपले कब्जा जमाउनुका साथै केआईएससीई का पाँचजना प्रतिभाशाली खेलाडीहरूले आ-आफ्नो विधामा सर्वोत्कृष्ट खेलाडी अर्थात् ‘बेस्ट एथलिट’ को प्रतिष्ठित उपाधि समेत जितेका छन्। यसरी उत्कृष्ट घोषित हुनेहरूमा १६ वर्षमुनिको बालिका वर्गमा सोहिनी लिम्बू, १८ वर्षमुनिको बालक वर्गमा विशाल तामाङ र बालिका वर्गमा अवन्तिका तामाङ रहेका छन्। यसैगरी २० वर्षमुनिको विधामा बालक तर्फ फुर्वा हिशे शेर्पा र बालिका तर्फ सबिना राईले सर्वोत्कृष्ट खेलाडीको उपाधि आफ्नो पोल्टामा पारेका छन्। केन्द्रका एथलिटहरूको यो उत्कृष्ट प्रदर्शन, विशाल पदक तालिका र पाँचवटा बेस्ट एथलिट उपाधिहरूले सिक्किम राज्यमा खेलकुद प्रतिभाको पहिचान, विकास र प्रवर्द्धनमा खेलो इन्डिया स्टेट सेन्टर अफ एक्सीलेन्स (केआईएससीई) ले गरिरहेको निरन्तर प्रयास र समर्पणलाई प्रस्ट पारेको छ।









