चामलिङको हुङ्कार~ ‘परिवर्तनको नाममा आएको गरीबमारा सरकारलाई नफालेसम्म सिक्किमको भलो हुँदैन’

FB_IMG_1780769717152

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै परिवर्तनको नाममा आएको सरकारले जनतालाई कङ्गाल मात्र नबनाएर राज्यको धरोहर र पहिचान समेत सिध्याएको गम्भीर आरोप लगाएका छन्।
​वर्तमान शासक दललाई ‘जनविरोधी’ को संज्ञा दिँदै पूर्व मुख्यमन्त्री चामलिङले भने, “जनतासँग सरकारलाई उखेलेर फ्याँक्ने तागत हुन्छ, अब जनताले आफ्नो शक्ति आफै चिन्नुपर्छ।”
​पैतृक थलो पुगेर बुझे जनताको दुखेसो
​सामाजिक भ्रमणको क्रममा आज एसडीएफ अध्यक्ष चामलिङ राङराङ-याङयाङ निर्वाचन क्षेत्र पुगेका थिए। भ्रमणको समापनपछि उनी आफ्नो पैतृक थलो पुगेर इष्टमित्र र स्थानीय गाउँलेसँग भेटघाट गरे। सो अवसरमा गाउँलेहरूले वर्तमान व्यवस्थामा भोग्नुपरेको चरम आर्थिक सङ्कट, पीडा र दैनिक जीवनका कठिनाइहरू चामलिङसमक्ष पोखेका थिए। पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा यसको विस्तृत जानकारी दिइएको छ।
​’डर र प्रलोभन त्यागेर आवाज बुलन्द गरौँ’
​गाउँलेसँगको अन्तरक्रियामा अध्यक्ष चामलिङले सिक्किमेली जनतालाई अब डर, प्रलोभन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ‘गरीबको सरकार’ पुनर्बहाली गर्न आह्वान गरे।

मैले आफ्नो सम्पूर्ण जीवन सिक्किम र सिक्किमेली जनताकै सेवामा समर्पित गरेको छु र श्वास रहुञ्जेल म जनताको पक्षमा अटल र अविचलित रहनेछु,” चामलिङले थपे, “परिवर्तनको नारा दिएर आएको यो एसकेएम सरकार गरीबमारा हो। यसलाई सत्ताबाट नफालेसम्म सिक्किममा अनिष्ट मात्र भइरहनेछ। त्यसैले अब अन्यायको विरुद्धमा आवाज बुलन्द गर्ने बेला आएको छ।”

About Author

Advertisement