गुवाहाटी: असममा भोलि अर्थात् ५ जून २०२६ का दिन मन्त्रीमण्डलको ठुलो विस्तार हुन गइरहेको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल मार्फत एक विशेष घोषणा गर्दै असम विधानसभाका १२ जना माननीय सदस्यहरूले असम सरकारको केबिनेट मन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेको जानकारी दिनुभएको छ।
मुख्यमन्त्री शर्माका अनुसार यो शपथ ग्रहण समारोह भोलि दिउँसो ठीक १२:४५ बजे आयोजना गरिनेछ। नयाँ मन्त्रीमण्डलमा पुराना अनुभवी अनुहारका साथै केही नयाँ अनुहारहरूलाई पनि समावेश गरिएको छ, जसले राज्यको विकास प्रक्रियालाई अझ गति दिने विश्वास गरिएको छ।
भोलि केबिनेट मन्त्रीको रूपमा शपथ लिनुहुने विधायकहरूको सूची यसप्रकार रहेको छ:
अश्विनी राय सरकार, अशोक सिंघल, विमल बोरा, विश्वजित दैमारी, जयन्त मल्लबरुवा, कौशिक राय, केशव महन्त, कृष्णेंदु पाल, श्रीमती नीलिमा देवी, पीयूष हजारिका, डा. रणोज पेगु र सुशान्त बरगोहाइँ।
नयाँ मन्त्रीमण्डलको यस विस्तारलाई असमको राजनीतिक एवं प्रशासनिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको छ। मुख्यमन्त्री गोलेले नयाँ बन्ने मन्त्रीहरूलाई अग्रिम बधाई तथा शुभकामना दिँदै सबैको सामूहिक प्रयासबाट असमले आत्मनिर्णय र समृद्धिको नयाँ उचाइ छुने विश्वास व्यक्त गर्नुभएको छ। शपथ ग्रहण समारोहको सम्पूर्ण तयारी पुरा भइसकेको सरकारी सूत्रले जनाएको छ।










