​​दार्जीलिङ, तराई र डुअर्स क्षेत्रको संवैधानिक समाधानका निम्ति कोलकातामा उच्चस्तरीय बैठक सम्पन्न

FB_IMG_1780586041070

मुख्यमन्त्रीद्वारा पूर्ण सहयोगको आश्वासन

कोलकाता: दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रको लामो समयदेखिको राजनीतिक मुद्दालाई संवैधानिक किनारा लगाउने उद्देश्यका साथ आज कोलकाताको नवान्नमा एक महत्त्वपूर्ण उच्चस्तरीय बैठक सम्पन्न भएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेदु अधिकारीको अध्यक्षतामा सम्पन्न यस बैठकमा भारत सरकारका प्रतिनिधि एवं यस क्षेत्रका निम्ति तोकिएका वार्ताकार (इन्टरलोकेटर) पंकज कुमार सिंहको विशेष उपस्थिति रहेको थियो। राज्यमा नयाँ सरकार गठन भएपछि भारत सरकारका प्रतिनिधि र पश्चिम बङ्गाल सरकारबीच भएको यो पहिलो औपचारिक बैठक हो। यस बैठकबारे दार्जीलिङका सांसद राजु विष्टले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै क्षेत्रको स्थायी समाधानका निम्ति यो एउटा ठुलो र सकारात्मक कदम भएको बताउनुभएको छ।
​विगतका दिनहरूलाई स्मरण गर्दै सांसद विष्टले केन्द्र सरकारले यस क्षेत्रको समस्या समाधानका निम्ति वार्ताकार नियुक्त गरेता पनि ममता बनर्जी नेतृत्वको पूर्ववर्ती तृणमूल कांग्रेस (टीएमसी) सरकारले शत्रुतापूर्ण अडान लिएको र बारम्बार वार्ताको मार्गलाई अस्वीकार गरेको आरोप लगाउनुभयो। तर, वर्तमान परिस्थितिमा परिवर्तन आएको उल्लेख गर्दै उहाँले आजको बैठकमा मुख्यमन्त्री सुवेदु अधिकारीले राज्यको भाजपा सरकारले केन्द्र सरकारसँग वार्ता प्रक्रियामा पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट आश्वासन दिनुभएको जानकारी गराउनुभयो। मुख्यमन्त्री अधिकारीले यस क्षेत्रका जनताको आकांक्षा अनुरूप यथासक्य चाँडो संवैधानिक समाधान पहिल्याउन सकारात्मक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस आश्वासनसँगै अब वार्ता प्रक्रियाले तीव्र गति लिने र सबै सरोकारवालाहरू एकजुट भई अघि बढ्ने विश्वास सांसद विष्टले व्यक्त गर्नुभएको छ।
​दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रका सम्पूर्ण जनताको तर्फबाट सांसद विष्टले यस मुद्दालाई उच्च प्राथमिकता र ध्यान दिएकोमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृह मन्त्री अमित शाह र पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेदु अधिकारीका साथै केन्द्र र राज्य सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।
​नवान्नमा आयोजित यस महत्त्वपूर्ण एवं निर्णायक बैठकमा पश्चिम बङ्गालका मुख्य सचिव मनोज कुमार अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार डा. सुब्रत गुप्ता, गृह तथा पहाडी मामिला विभागका सचिव र पश्चिम बङ्गालका पुलिस महानिर्देशक लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement