लेखकहरुले लेख्दा कनेर नलेख्नु र लेख्दा आत्मालाई नढाट्नु: डा. जीवन नामदुङ
खरसाङ: खरसाङकी नारी स्रष्टा एवं शिक्षिका मिना लामा राईद्वारा लिखित पहिलो कृति ‘मौनभित्रको कोलाहल’ कविता सङ्ग्रह आईतवार खरसाङमा लोकार्पण गरिएको छ। खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार विन्ध्या सुब्बाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा जीवन नामदुङ उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्यकारहरु क्रमैले ग्याल्पो लामा, जीबी बल, आशा मुखिया लामा, छिमी ओङ्मु लामा, अमला सुब्बा, विष्णु ठकुरी, गणेश थापा, रश्मि राई, ऋषि राई, विनोद रसाइली लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण सरोजनी सागर देवानले राखेकी थिइन्। कार्यक्रमलाई देविका मंग्राती राईले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीद्वय आस्था सुब्बा र सृजना ठकुरीले कवि मिना लामा राईद्वारा लिखित कविताहरु आवृत्ति गरेका थिए। कार्यक्रममा कवि मिना लामा राईको परिचय उषाकिरण सत्यदर्शीले राखेकी थिइन्। यसै कार्यक्रममा खरसाङकी नारी स्रष्टा एवं सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली भाषाकी शिक्षिका मिना लामा राईद्वारा लिखित पहिलो कृति ‘मौनभित्रको कोलाहल’ कविता सङ्ग्रह सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र कवि मिना लामा राई आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा जीवन नामदुङले यस पुस्तक लोकार्पण भएको घोषणा गरेका थिए। उक्त लोकार्पित कविता सङ्ग्रहमाथि कवि कर्ण विरहले समीक्षात्मक टिप्पणी राख्दै कवि मिना लामा राईद्वारा लिखित कविता सङ्ग्रहको शीर्षक मनभित्रको कोलाहल दुई शब्द मौन र कोलाहलको विरोधाभास रहेको अनि वर्तमान मानिसको जीवनलाई परिभाषित गर्ने प्रयास गरिएको बताएका छन्। उनले कृतिमाथि टिप्पणी राख्दै भने, यस कविता सङ्ग्रहमा नारी चेतना र मुख्यत: पितृसत्तात्मक समाजको विरोध रहेको छ। यस कविता सङ्ग्रहमा देश प्रेम, भौगोलिक साथै सीमानाभित्र सीमित नरहेर भावना, मानवता आदि आधार रहेका छन्। उनका कविताहरुमा विश्व शान्तिको सन्देश छ।’
कवि कर्ण विरहले अघि भने, ‘उत्तराधुनिक कविताले समूहमाथि प्रश्न गर्छ। यो कृति समकालीन कविता कृति हो। उनी समकालीन कवि हुन्। यस अर्थमा समाजमा रहेका विभिन्न कुराहरु कवितामा निहित छन्। वर्तमान समयमा नारी कविहरुले अत्यन्तै भावुक भएर कविता लेख्छन् तर कवि मिना लामा राईको कविताहरु फरक छन्। उनको शब्द चयन फरक छन्। शब्द भण्डार बेसी छ उनमा। उनी हिज्जे लेखनमा सचेत पनि छन्। हिज्जे सम्बन्धि पकड राम्रो हुनको साथै मेहनत गरेर कविता लेखेका छन्। उनको कवितस कृतिको मूल्याङ्कन हुन आवश्यक छ।’
कार्यक्रममा कवि मिना लामा राई, ज्ञानकुञ्ज बुक्स खरसाङको पक्षमा प्रकाशक सञ्जीव छेत्री, सिस्टर विनी फ्रेड एफसी, गणेश थापा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा कविद्वय आशिष प्रियदर्शी राई, नितेस राईले कविता वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले आफ्नो सम्बोधनमा लेखकहरुले लेख्दा कनेर नलेख्नु अनि लेख्दा आत्मालाई नढाट्नु भनी बताएका छन्। उनले लेख्नु भनेको आत्माको अभिव्यक्ति हो र आत्मामा व्यक्त गर्ने कुरा नै लेखन कार्य हो भनी बताएका छन्। डा. जीवन नामदुङले भने, सबैले लेख्नु होस् तर आत्मालाई ढाँटेर नलेख्नु होस्। आफुमा जे छ त्यो लेख्नु होस्। समाजको हरेक सूक्ष्म रुपलाई पनि लेख्नुहोस्। तर लेख्दा ढाँट्नु हुँदैन।’

डा. नामदुङले कवि मिना लामा राईको कविताहरु विषयमा अनुसन्धान गरिए राम्रो हुने बताउँदै उनी अब कवियत्री बनेको बताए। कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले आफ्नो वक्तव्यमा कवि मिना लामा राईलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको कविताहरु मन परेको बताइन्। वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले भनिन् ‘उनका कविताहरुमा देश प्रेम रहेको, विश्व समस्याहरुमाथि चिन्ता व्यक्त गरिएको र सामुहिक समस्याप्रति सचेत रहेकी छन्। सबै स्रष्टाहरुको आधारशिला कविता नै हो। मनको भाव प्रकट गर्ने माध्यम नै कविता हो। किनभने कविता साहित्यको सबैभन्दा लोकप्रिय र आफ्नो जीवनको दु:ख सुखको साथी हो।’
उनले अघि भनिन् ‘नारीहरु लेखनमा संख्यामा मात्र धेरै होइन तर गुणात्मक लेखनमा पनि अघि हुनुपर्छ भन्ने मलाई लाग्छ।’ उनले खरसाङमा नारी स्रष्टाहरुमा जेठी सुशिला सुब्बा रहेको पनि बताइन्। कार्यक्रममा धन्यवाद ज्ञापन तारा छेत्रीले राखेकी थिइन्। कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै कवि मिना लामा राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कविता सङ्ग्रह प्रकाशित गर्नुको कारण विषयमा विस्तृत जानकारी गराएकी छन्।








