गान्तोक: भारतको सिक्किम राज्यमा १६ औँ ‘नोर्थइस्ट राइडर्स मिट’ आयोजना हुने भएको छ। सिक्किमको नाम्ची जिल्लामा आयोजना हुन लागेको उक्त बृहत् बाइकर्स भेलाको तयारीप्रति सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले खुसी व्यक्त गर्दै सहभागीहरूलाई स्वागत तथा शुभकामना दिएका छन्।
मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस पटकको राइडर्स मिटमा भारतको उत्तर-पूर्वी (नोर्थइस्ट) राज्यहरूका साथै छिमेकी मुलुक नेपाल, भुटान र अन्य विभिन्न देशहरूबाट ५ हजारभन्दा बढी राइडर्स (मोटरसाइकल चालक) हरूको सहभागिता रहने बताएका छन्।
आयोजक ‘ओपन रोड वान्डरर्स मोटरसाइकल क्लब’ का प्रतिनिधिहरूसँगको भेटपछि मुख्यमन्त्री गोलेले भनेका छन्, “सिक्किमले यति ठूलो संख्यामा राइडर्सहरूलाई आतिथ्यता प्रदान गर्न लागेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ। म आयोजक क्लब र सम्पूर्ण सहभागीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
यस अन्तर्राष्ट्रिय स्तरको बाइकर्स भेलाले सिक्किमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ। राइडर्सहरूको यो यात्राले सिक्किमको लोभलाग्दो प्राकृतिक सौन्दर्य, समृद्ध भू-दृश्य र रोमाञ्चक मोटरसाइकल मार्गहरूको अनुभव लिने तथा त्यसलाई नजिकबाट नियाल्ने एउटा सुनौलो अवसर प्रदान गर्ने मुख्यमन्त्री गोलेले उल्लेख गरे।
हिमाली राज्य सिक्किम बाइक राइडर्स र साहसिक पर्यटनका लागि दक्षिण एसियामै आकर्षक गन्तव्यका रूपमा चिनिँदै आएको छ। यस वर्ष नाम्चीमा हुन लागेको यो भेलाले नेपाल र भारतका बाइकर्सहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।








