खरसाङ: खरसाङ महकुमा खेलकूद संघको कार्यालयमा स्व बसन्त सिंह (बिस्वकर्मा)को स्मृतिमा एउटा शोक सभाको आयोजना गरिएको छ। सभालाई संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम स्व बसन्त सिंह (बिस्वकर्मा)को तस्वीरमा संघका अध्यक्ष मोहन योञ्जनले धूप द्विप प्रज्ज्वलन गरे भने उपस्थित संघका सदस्यहरुले पुष्प चढाएका थिए। त्यसपछि स्व बसन्त सिंहको चिर आत्माको शान्तिको निम्ति १ मिनटको मौन धारण गरियो। ज्ञात रहोस् स्व बसन्त सिंह खरसाङ महकुमा खेलकूद संघमा वर्तमानमा कोषाध्यक्षको पदमा आसिन थिए भने उनको मृत्यु गत १७ मई २०२६ को दिन हृदयघातको कारणले भएको थियो। आफ्नो शोक समवेदना प्रकट गर्ने क्रममा संघका सचिव निर्मल गुरुङले स्व बसन्त सिंह एक कर्मठ सदस्य रहेको बताउँदै उनको बोलि अलिक खस्रो भए पनि उनी मनको चोखो व्यक्ति रहेको बताए। संघलाई आवश्यकता परेको समयमा जस्तै विषम परिस्थितिमा पनि उनी उपस्थित हुने अनि संघको विभिन्न खेलकूद कार्यक्रमहरुमा सक्रिय रुपले भाग लिने बताए। उनको निधनले संघले आफ्नो एउटा खाँबो नै ढलेको आज अनुभव गरिरहेको गुरुङले बताए। संघका अध्यक्ष मोहन योञ्जनले स्व बसन्त सिंहले संघको हिसाब किताब एकदमै सठीक रुपले राख्ने गरेको अनि उनी आफ्नो भाई समान रहेको बताए। संघका अन्य सदस्यहरुले पनि वक्तव्य राख्दै केही दिनको समयको अन्तरालमा संघले आफ्नो चारजना महत्वपूर्ण सदस्यहरु घुमाए र आज यति छिटो हामीले कोषाध्यक्ष बसन्त सिंहलाई यसरी गुमाउँछौ भनी कहिले नसोचेको किनकि गत मार्च महिनामा मात्र संघले मोहन राईलाई घुमाएको आलै थियो भनी बताएका छन्। जे भए तापनि मृत्यु एउटा अकाट्य सत्य हो र यसलाई कसैले टारेर टार्न सक्दैन, केवल अघि पछि मात्र हो भन्दै सबैले बसन्त सिंहलाई सम्झन्दै उनले संघलाई अनि खेलकूदलाई दिएको योगदानलाई सदैव याद गरिने बताए। ज्ञात रहोस् स्व बसन्त सिंह विगतमा लोटस क्लबका पूर्व खेलाडी एवं सदस्य थिए भने वर्तमानमा पनि उनी विभिन्न संस्थाहरु जस्तै गोर्खा सांस्कृतिक संस्थान, भारत स्काउट एण्ड गाइड्स, रेलवे अवकास प्राप्त कर्मचारी संगठनका सदस्य थिए।











