कोलकाता: राज्यका पूर्व अग्निशमन मन्त्री एवं तृणमूल कांग्रेसका नेता सुजीत बसुले प्रवर्तन निर्देशनालय (ईडी) द्वारा गरिएको आफ्नो पक्राउलाई कालकत्ता उच्च अदालतमा चुनौती दिएका छन्। नगरनिगम नियुक्ति भ्रष्टाचार मामिलामा पक्राउ परेका बसु हाल न्यायिक हिरासतमा जेलमा रहेका छन्। स्रोतका अनुसार बसुका वकिलद्वारा दर्ता गरिएको याचिकामा कालकत्ता उच्च अदालतमा चाँडै नै सुनुवाइ हुने सम्भावना छ। यस मामिलालाई न्यायाधीश शम्पा दत्त पालको अदालतमा आगामी शुक्रबार विशेष आधारमा उठाउन सकिने कानुनी वृत्तमा चर्चा सुरु भएको छ।नगरनिगम नियुक्ति भ्रष्टाचार मामिलालाई लिएर ईडीले लामो समयदेखि सुजीत बसुमाथि अनुसन्धान गरिरहेको थियो। अनुसन्धान एजेन्सीले दमदम नगरपालिकामा जागिर लगाइदिने नाममा अवैध रूपमा उम्मेदवारहरूको नाम प्रस्ताव गरिएको र त्यसको बदलामा ठूलो धनराशि असुल गरिएको आरोप लगाएको छ। यसअघि अनुसन्धानका क्रममा ईडीले उनलाई सोधपुछका लागि पटक-पटक नोटिस पठाए पनि विधानसभा निर्वाचनको प्रचारप्रसारमा व्यस्त रहेको जनाउँदै उनी अदालत गएका थिए। निर्वाचन सम्पन्न भएपछि ईडी समक्ष उपस्थित भएका बसुसित कैयौँ चरणको लामो सोधपुछ गरिएको थियो। अहिले पक्राउलाई नै चुनौती दिँदै अदालतमा याचिका दायर भएपछि यस मामिलाले पश्चिम बङ्गालको राजनीतिक र कानुनी क्षेत्रमा ठूलो खैलाबैला पैदा गरेको छ।









