फर्जी जग्गाधनी पुर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा एक महिला पक्राउ​

Screenshot_20260528_230211_Facebook

माटिगाडा: फर्जी कागजात (जग्गाधनी पुर्जा) तयार गरी ठगीधन्दा चलाएर जग्गा बिक्री गरेको आरोपमा पुलिसले माटिगाडा क्षेत्रबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जग्गा दलाल भनिएका मोहम्मद जाहिदकी पत्नी जैस्मिन खातुन रहेकी छन्। माटिगाडा पुलिसले उनलाई नियन्त्रणमा लिएर सिलिगुडी महकुमा अदालत (सब-डिभिजनल कोर्ट) मा पेस गरेको छ।​पुलिस स्रोतका अनुसार सन् २०१२ मा एक महिलाले माटिगाडाको पञ्चकलगुडी क्षेत्रमा ३ कट्ठा जग्गा खरिद गरेकी थिइन्। पछि सन् २०२१ मा उनले उक्त जग्गा अर्कै व्यक्तिलाई बिक्री गरिन्। तर, जग्गा खरिद गर्ने क्रेताले पछि सोही जग्गामा अर्को व्यक्तिले पनि आफ्नो स्वामित्व दाबी गरिरहेको भन्दै उजुरी गरेपछि घटना बाहिर आएको हो।​अनुसन्धानका क्रममा पुलिसले सन् २०२४ मा सोही जग्गाको जैस्मिन खातुनको नाममा फर्जी कागजात तयार गरिएको फेला पारेको थियो। उक्त कागजातमा पीडितको हस्ताक्षर किर्ते (फोर्ज) गरिएको र अर्को व्यक्तिको फोटो प्रयोग गरेर जालसाजीपूर्ण तरिकाले कागजपत्र बनाइएको आरोप छ। आरोपीका पति मोहम्मद जाहिद उक्त विवादित कागजातमा साक्षीका रूपमा बसेको र उनीविरुद्ध यसअघि पनि जग्गा सम्बन्धी थुप्रै मुद्दाहरू दर्ता रहेको पुलिसले जनाएको छ। पीडितको लिखित उजुरीका आधारमा माटिगाडा पुलिसले कारबाही अघि बढाउँदै जैस्मिन खातुनलाई पक्राउ गरेको हो र यस मामिलामा थप अनुसन्धान जारी छ।

About Author

Advertisement