सोनादा: साहित्य अकादेमी, नयाँ दिल्ली अनि सोनादा डिग्री कलेजको संयुक्त तत्वावधानमा कविसन्धि एवम् साहित्य मञ्च कार्यक्रम सम्पन्न भएको छ। उक्त कवि सन्धिमा दार्जिलिङका चर्चित कवि केवलचन्द्र लामाको एकल कविता कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले गरेका थिए भने केवलचन्द्र लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा अतिथि कविको रूपमा कवि प्रणय शंकर र कवयित्री द्वारिका छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङ र आशा मुखिया लामा, सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेस खाती, प्राध्यापिका डा. रागिनी थापा, मुण्डाकोठी हाई स्कूलका वर्तमान प्रधानाध्यापिका सुधा राई, साहित्यकार नरबहादुर तोया, जोगेन दर्नाल, उषाकिरण सत्यदर्शी, डा. सुरेन्द्र चामलिङ, गोर्खा जन पुस्तकालय खरसाङका सचिव विनोद रसाइली, साहित्यकार निरङ्कर थापा, कवि नरेश कटुवाल, अमर शर्मा, रसिक छेत्री, लोचन ब्लोन आदि विशेष रुपमा उपस्थित थिए। कार्यक्रमलाई पर्वत रसाईली र इलोरा शर्माले सञ्चालन गरेका थिए। अतिथिहरुका बाहुलीबाट दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा प्रारम्भिक नृत्य र सरस्वती वन्दना प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत वक्तव्य नेपाली परामर्श समिति, साहित्य अकादमी नयाँ दिल्लीका सदस्य सुवास सोताङले राखेका थिए। कार्यक्रममा सोनादा डिग्री कलेजका विद्यार्थीहरुले केवलचन्द्र लामाद्वारा लिखित गीत मेरो हाल नसोध’ प्रस्तुत गरिएको थियो। कवि सन्धि कार्यक्रम अन्तर्गत कवि केवलचन्द्र लामाद्वारा आफ्नो एकल कविता वाचन साथै मन्तव्य पनि राखेका थिए। यस कार्यक्रममा आयोजक समितिको तर्फबाट कवि केवलचन्द्र लामालाई सम्मान पनि जनाइएको छ। यस अवसरमा कवि केवलचन्द्र लामालाई सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेस खातीको बाहिलीबाट सम्मानित गरिएको छ। यसै कार्यक्रममा सोनादा डिग्री कलेजबाट तयार गरिएको पुस्तक ‘पर्पेक्टिभस्’-को लोकार्पण गरिएको छ। कार्यक्रममा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा लामा मुखियाले आफ्नो मन्तव्य राखेकी थिइन्। यसै कार्यक्रममा साहित्य मञ्च कार्यक्रम सम्पन्न भएको छ जसको अध्यक्षता वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले गरेका थिए। यस कार्यक्रममा कवि प्रणय शङ्करले कविता वाचन गरेका थिए भने साहित्यकार प्रा. मेघनाथ छेत्रीले वार्ता प्रस्तुत गरेका थिए भने साहित्यकार एवं प्राध्यापक अनिलकुमार विश्वकर्माले पनि वार्ता प्रस्तुत गरेका थिए।

कार्यक्रममा सभाध्यक्षको रुपमा उपस्थित वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले सम्बोधन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा प्राचार्य डा. योगेश खातीले धन्यवाद वक्तव्य राखेपछि कार्यक्रम समाप्त भएको थियो।









