आगामी साउनभित्र यातायात सञ्चालन गर्ने ग्रेफको प्रतिबद्धता
गान्तोक: राज्य सामाजिक कल्याण विभागका मन्त्री एवं लाचेन–मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुफ लेप्चाको अध्यक्षतामा शुक्रबार टाशीलिङ सचिवालयस्थित कार्यालयमा एक उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। बैठक मुख्य रूपमा लाचेन–मङ्गन क्षेत्रको सडक सम्पर्क अवस्था र विशेष गरी चुङथाङ–लाचेन सडक खण्डको स्तरोन्नतिका विषयमा केन्द्रित थियो।
सडक निर्माणलाई तीव्रता दिने उद्देश्यले आयोजित उक्त बैठकमा प्रोजेक्ट स्वास्तिक, सीमा सडक सङ्गठन (बीआरओ) का प्रमुख अभियन्ता ब्रिगेडियर अमित साखरे तथा ७५८ बीआरटीएफ, जीआरईएफ का कमाण्डर कर्णेल बी. करण सिंह लगायत वरिष्ठ सैन्य तथा प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा मन्त्री लेप्चाले सडक सम्पर्क विच्छेद हुनुका कारण लाचेन जुम्साका स्थानीय जनताले भोग्नुपरेका गम्भीर समस्या र कठिनाइबारे अधिकारीहरूलाई विस्तृत जानकारी गराएका थिए। उनले पटक-पटक हुने सडक अवरोधका कारण त्यस क्षेत्रको पर्यटन गतिविधि ठप्प प्रायः भएको र पर्यटनमै आश्रित लाचेनवासीहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको बताए। लामो समयदेखि व्यवसाय ठप्प हुँदा स्थानीय बासिन्दाहरूमा आर्थिक दायित्व र ऋणको भार थपिएको र उनीहरू ठूलो मानसिक एवं आर्थिक दबाबमा परेको मन्त्री लेप्चाको भनाइ थियो।
विगत साढे दुई वर्षअघिको ‘ग्लोफ’ (हिमताल विष्फोटनजन्य बाढी) को विपत्तिपछि अत्यन्तै कष्टकर अवस्था भोग्दाभोग्दै पनि लाचेनका जनताले सरकारप्रति देखाएको धैर्यता, सहयोग र समर्थनको उनले सराहना गरे। सडक निर्माण कार्यलाई शीघ्र सम्पन्न गराउन तथा सर्वसाधारणको आवागमन सहज बनाउन आफूले मङ्गन जिल्ला प्रशासन तथा चुङथाङका महकुमा अधिकारीहरूसँग नियमित बैठक र समन्वय गरिरहेको उनले स्पष्ट पारे।
लाचेन क्षेत्रको सडक समस्याको दीर्घकालीन र दिगो समाधानका लागि मन्त्री लेप्चाले चुङथाङ–लाचेन सडकअन्तर्गत ‘तारम छु’ क्षेत्रमा सुरुङ (टनेल) निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। प्रस्तावित सुरुङ मार्गले लाचेनवासीका लागि बाह्रै महिना निर्बाध सडक सम्पर्क सुनिश्चित गर्ने र यो राष्ट्रिय सुरक्षाका दृष्टिले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण हुने उनको दाबी छ। यस विषयलाई गम्भीरतापूर्वक लिँदै मुख्यमन्त्रीले प्रक्रिया अघि बढाउन मुख्य सचिवलाई निर्देशन दिइसकेको र सिक्किम सरकारको सडक एवं पुल विभागले भूमि सम्भाव्यता प्रतिवेदन तयार गरी मुख्य सचिवसमक्ष पेश गरिसकेको जानकारी समेत बैठकमा दिइयो।
छलफलका क्रममा ग्रेफका अधिकारीहरूले आगामी १५ जुलाई २०२६ (असार मसान्त) भित्र उक्त सडक खण्डको पुनर्निर्माण र सम्पर्क पुनःस्थापनाको कार्य पूर्ण रूपमा सम्पन्न गरिने आश्वासन दिएका छन्। निर्धारित समय सीमाभित्र काम सकेर उक्त सडक खण्डलाई सर्वसाधारण तथा सवारी साधन सञ्चालनका लागि खुला गरिने प्रतिबद्धता प्राविधिक अधिकारीहरूले व्यक्त गरेका छन्।









