काेचबिहार: काेचबिहारमा एक प्रभावशाली तृणमूल नेताको पक्राउलाई लिएर राजनीतिक वृत्तमा तीव्र हलचल मच्चिएको छ। तृणमूल कङ्ग्रेसका काेचबिहार १-बी ब्लक अध्यक्ष अब्दुल कादेर लाई सोमबार बिहान पुलिसले पक्राउ गरेको हो। पुलिस स्रोतका अनुसार काेचबिहारको गुडियाहाटी नम्बर २ ग्राम पञ्चायत क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको थियो।पछि सोधपुछपश्चात् आरोपी नेतालाई औपचारिक रूपमा पक्राउ गरिएको हो। घटनाको अनुसन्धानमा पुलिस जुटिरहेको छ भने थप कानुनी प्रक्रिया पनि अघि बढाइएको छ। पुलिसको दाबीअनुसार अब्दुल कादेरविरुद्ध चुनावअघि विपक्षी दलका नेता तथा कार्यकर्तामाथि हमला गर्ने, घरमा तोडफोड गर्ने, लुटपाट गर्ने तथा महिलासँग अशोभनीय व्यवहार गर्ने जस्ता गम्भीर आरोप दर्ता छन्। यिनै आरोपका आधारमा पुलिसले यो कारबाही गरेको बताइएको छ।उल्लेखनीय रूपमा पछिल्ला केही दिनभित्र काेचबिहारमा तृणमूलका ब्लक स्तरका नेताको पक्राउ भएको यो दोस्रो घटना हो। यस घटनापछि जिल्लाको राजनीतिक वातावरण अझ तातिएको छ।









