दार्जिलिङ: हालै सम्पन्न विधानसभा निर्वाचनमा विजयी भई नवनिर्वाचित विधायक बनेका नोमन राई आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को केन्द्रीय कार्यालय, दार्जीलिङमा शिष्टाचार भेटका लागि उपस्थित भएका छन्। उक्त अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले नवनिर्वाचित विधायक नोमन राईलाई खदा अर्पण गर्दै भव्य स्वागत गर्नुका साथै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटघाटका क्रममा अध्यक्ष मन घिसिङले राईको जीतलाई जनताको विश्वास, परिवर्तनप्रतिको आशा तथा क्षेत्रीय विकासप्रतिको जनसमर्थनको प्रतिफलका रूपमा व्याख्या गर्दै जनअपेक्षा अनुरूप इमानदार, उत्तरदायी र विकासमुखी नेतृत्व प्रदान गर्नुबपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित विधायक नोमन राईले गोरामुमो केन्द्रीय कार्यालयमा आफुलाई प्रदान गरिएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई सम्मान गर्दै दार्जीलिङ क्षेत्रको समग्र विकास, जनसरोकारका विषय र स्थायी राजनीतिक समाधानका निम्ति प्रतिबद्ध भएर कार्य गर्ने बताएका छन्।

उक्त शिष्टाचार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। भेटघाटका क्रममा समसामयिक राजनीतिक विषय, क्षेत्रीय जनसमस्या, विकासका प्राथमिकता तथा दार्जीलिङ पहाडको भावी राजनीतिक दिशाबारे समेत सकारात्मक छलफल भएको बताइएको छ।








