दार्जिलिङ: विधानसभा चुनाउको परिणामपछि गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङले दार्जीलिङको महाकाल मन्दिरमा पुगेर दर्शन गरेर पूजा अर्चना पनि गरेका छन्। गत चुनाउको माहोलमा चौरस्ता परिसरबाट गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले विधानसभा चुनावको सन्दर्भमा एउटा दृढ संकल्प गरेका थिए कि यदि उम्मेदवार नमन राईले पराजय भोग्नुपरे, आफू राजनीतिबाट सन्यास लिने भनेर। तर ४ मई २०२६ मा सार्वजनिक भएको चुनावी परिणामले परिस्थितिलाई ऐतिहासिक मोड दियो। नमन राईको उल्लेखनीय विजयसँगै अध्यक्ष गुरुङको संकल्प विजयको प्रतीकमा परिणत भयो। आफ्नो भाकल पूरा गर्दै उनले आज श्रद्धापूर्वक महाकाल मन्दिरमा पुगेर दर्शन गरेर पूजा अर्चना गरेका छन्।
गोर्खा जातिको अधिकार, अस्तित्व र पहिचानका लागि निरन्तर संघर्षरत् अध्यक्ष गुरुङले विगतका अविश्वास र विश्वासघातलाई पन्छाउँदै केवल महाकाल बाबामाथि आस्था राखेर आफ्नो चार दशक लामो राजनीतिक अनुभवलाई समेत दाउमा राख्दै यो साहसिक निर्णय लिएको बताइएको छ।

दार्जीलिङ विधानसभामा नोमन राईको जीतसँगै खरसाङ, कालेबुङ, तराई र डुवर्स क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल भएको छ, जसले पश्चिम बंगालको राजनीतिक परिवेशमा स्पष्ट परिवर्तनको संकेत दिएको छ। यस ऐतिहासिक उपलब्धिपछि अध्यक्ष बिमल गुरुङ र नव-निर्वाचित विधायक नमन राईले संयुक्त रूपमा महाकाल बाबाको दर्शन गर्दै सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गरेका छन्।








