नाम्ची: दक्षिण सिक्किमको रलोङस्थित देन्सा पाल्छेन छोलिङ गुम्पामा आज गोश्री ग्यालत्सब रिम्पोछेको जन्मोत्सव समारोह भव्य रूपमा आयोजना गरियो। सो शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रतिनिधित्व गर्दै उनकी धर्मपत्नी सारदा तामाङ र धर्म विभागका मन्त्री सोनाम लामा सहभागी भएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक कार्यक्रममा व्यस्त रहनुपरेका कारण मुख्यमन्त्री तामाङ समारोहमा उपस्थित हुन सकेनन्।
समारोहका क्रममा गुम्पाको विकास र संरक्षणमा पुर्याएको अटल एवं उदार सहयोगको कदर गर्दै गुम्पा प्रशासनको तर्फबाट मुख्यमन्त्री तामाङलाई अभिनन्दन गरिएको थियो। मुख्यमन्त्रीको तर्फबाट उनकी धर्मपत्नी सारदा तामाङले रिम्पोछेको बाहुलीबाट सो अभिनन्दन ग्रहण गरिन्।
सोही अवसरमा रलोङस्थित पाल्छेन छोलिङ गुम्पामा नयाँ गुम्पा विद्यालय (मोनास्टिक स्कुल) र सभाभवन निर्माणका लागि ग्यालत्सब्पा त्रिदाना च्यारिटेबल ट्रस्टलाई आर्थिक सहयोग स्वरूप १ करोड ५० लाख रुपैयाँ बराबरको दुईवटा चेक हस्तान्तरण गरियो। कार्यक्रममा क्षेत्र विधायक रिसल दोर्जी भोटिया, विधायक आदित्य गोले, प्रभाकर गोलेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।









