लद्दाखमा पाँच नयाँ जिल्ला थपिए

vk_saxenas-1772775249813_m

प्रशासनिक सुदृढीकरणका लागि ऐतिहासिक कदम

लेह: ​लद्दाखका उप-राज्यपाल विनय कुमार (वीके) सक्सेनाले केन्द्र शासित प्रदेश लद्दाखमा पाँचवटा नयाँ जिल्लाहरू गठन गर्ने घोषणा गर्दै यस दिनलाई ‘ऐतिहासिक’ बताउनुभएको छ। नयाँ जिल्लाहरूको रूपमा नुब्रा, शाम, चाङ्थाङ, जास्कर र द्रासलाई मान्यता दिइएको छ। यसअघि लद्दाखमा कारगिल र लेह गरी दुईवटा मात्र जिल्लाहरू रहेका थिए भने अब उप-राज्यपालको स्वीकृतिसँगै लद्दाखमा कुल जिल्लाको संख्या सात पुगेको छ। सन् २०२४ को अगस्ट महिनामा गृह मन्त्रालयले दिएको सहमतिका आधारमा यो नयाँ प्रशासनिक संरचना तयार पारिएको हो।
​नयाँ जिल्लाहरूको गठनले लद्दाखको तल्लो तहसम्म प्रशासनिक उपस्थिति बलियो बनाउने र विकेन्द्रीकरणको प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। उप-राज्यपाल सक्सेनाका अनुसार यो निर्णयले विशेष गरी दुर्गम क्षेत्रका बासिन्दाहरूलाई सार्वजनिक सेवाहरू छिटो र छरितो रूपमा उपलब्ध गराउन मद्दत पुर्‍याउनेछ। लद्दाखका जनताले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएसँगै अब जनता र सरकारबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ। यसका साथै नयाँ जिल्लाहरूको स्थापनाले स्थानीय स्तरमा विकास, रोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गर्ने मार्ग प्रशस्त गरेको छ।

About Author

Advertisement