इरानी सैन्य कमाण्डर वाहिदीको रहस्यमयी अनुपस्थिति: सत्ता संघर्ष कि सुरक्षा रणनीति?

Screenshot_20260428_000547_Google

नयाँ दिल्ली: ​इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को नेतृत्व सम्हालेको भनिएका ब्रिगेडियर जनरल अहमद वाहिदी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिनुले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो कौतुहलता र आशंका पैदा गरेको छ। गत मार्च महिनामा उनलाई आईआरजीसीको नयाँ प्रमुख नियुक्त गरिएको समाचार सार्वजनिक भए पनि, सरकारी तवरबाट यसको आधिकारिक पुष्टि नहुनु र उनी स्वयम् कुनै पनि कार्यक्रममा उपस्थित नहुनुले इरानको भित्री सैन्य प्रशासनमा अन्योल रहेको संकेत गर्दछ।
​विशेष गरी, इजरायली र अमेरिकी आक्रमणमा मारिएका भनिएका वरिष्ठ कमाण्डरहरूको ठाउँ लिन आएका वाहिदीको यो मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। आईआरजीसीका अन्य उच्च अधिकारीहरू सार्वजनिक र्‍याली र सैन्य केन्द्रहरूको भ्रमणमा सक्रिय देखिँदा वाहिदी भने फेब्रुअरी यता सञ्चारमाध्यमको नजरबाट टाढा छन्। कतिपयले यसलाई इरानी राष्ट्रपति मसूद पेज़ेश्कियान र संसदका सभामुखसँगको बढ्दो राजनीतिक मतभेदको परिणाम मानेका छन् भने कतिपयले अमेरिकाको ‘हिट लिस्ट’ मा रहेका कारण उनलाई सुरक्षा घेराभित्र गोप्य राखिएको हुनसक्ने अड्कलबाजी गरेका छन्।
​इरानमा सर्वोच्च नेताको उत्तराधिकारी चयनको चर्चा र क्षेत्रीय तनाव बढिरहेका बेला, सेनाको उच्च ओहोदामा रहेका व्यक्तिको यो रहस्यमयी ‘गायब’ शैलीले इरानको आन्तरिक सत्ता समीकरण र भावी रणनीतिमा ठूलो फेरबदल भइरहेको आभास दिलाउँछ।

About Author

Advertisement