पश्चिम बंगाल चुनाव: दोस्रो चरणका लागि सुरक्षा व्यवस्था कडा, २३ सयभन्दा बढी केन्द्रीय बल परिचालन

indian-voter-hand-voting-sign-ink-pointing-vote-india-behind-election-commission-background-212400374

कोलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचनको पहिलो चरणमा भएको रेकर्डतोड मतदान र विभिन्न स्थानमा देखिएको छिटपुट हिंसापछि निर्वाचन आयोगले दोस्रो चरणका लागि सुरक्षा व्यवस्थामा ठूलो हेरफेर गरेको छ। निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन आयोगले राज्यभर व्यापक स्तरमा केन्द्रीय सुरक्षा बल परिचालन गर्ने निर्णय गरेको हो।
​दोस्रो चरणको निर्वाचनका लागि आयोगले कुल २३२१ कम्पनी केन्द्रीय बल परिचालन गरेको छ। यस पटक औद्योगिक र सहरी क्षेत्रका साथै संवेदनशील मानिएका ग्रामीण इलाकाहरूमा विशेष निगरानी बढाइएको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला र प्रहरी कमिश्नरेट स्तरमा सुरक्षाकर्मीको संख्या बाँडफाँड गरिएको छ। आयोगका अनुसार सबैभन्दा बढी सुरक्षा बल पूर्व बर्दवानमा २६० कम्पनी र कोलकातामा २७३ कम्पनी तैनाथ गरिएको छ। यसका साथै हुगली ग्रामीण क्षेत्रमा २३४ र बैरकपुरमा १६० कम्पनी सुरक्षाकर्मी परिचालन गरिएका छन्।
​निर्वाचन प्रक्रियाको सूक्ष्म निगरानीका लागि आयोगले १४२ जना जनरल अब्जर्भर, ९५ जना प्रहरी अब्जर्भर र १०० जना व्यय पर्यवेक्षकहरू नियुक्त गरेको छ। संवेदनशील र अति-संवेदनशील मतदान केन्द्रहरूमा कुनै पनि प्रकारको गडबडी हुन नदिन अतिरिक्त बल परिचालन गरिएको र मतदाताहरूलाई निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ।

About Author

Advertisement