कोलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचनको पहिलो चरणमा भएको रेकर्डतोड मतदान र विभिन्न स्थानमा देखिएको छिटपुट हिंसापछि निर्वाचन आयोगले दोस्रो चरणका लागि सुरक्षा व्यवस्थामा ठूलो हेरफेर गरेको छ। निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन आयोगले राज्यभर व्यापक स्तरमा केन्द्रीय सुरक्षा बल परिचालन गर्ने निर्णय गरेको हो।
दोस्रो चरणको निर्वाचनका लागि आयोगले कुल २३२१ कम्पनी केन्द्रीय बल परिचालन गरेको छ। यस पटक औद्योगिक र सहरी क्षेत्रका साथै संवेदनशील मानिएका ग्रामीण इलाकाहरूमा विशेष निगरानी बढाइएको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला र प्रहरी कमिश्नरेट स्तरमा सुरक्षाकर्मीको संख्या बाँडफाँड गरिएको छ। आयोगका अनुसार सबैभन्दा बढी सुरक्षा बल पूर्व बर्दवानमा २६० कम्पनी र कोलकातामा २७३ कम्पनी तैनाथ गरिएको छ। यसका साथै हुगली ग्रामीण क्षेत्रमा २३४ र बैरकपुरमा १६० कम्पनी सुरक्षाकर्मी परिचालन गरिएका छन्।
निर्वाचन प्रक्रियाको सूक्ष्म निगरानीका लागि आयोगले १४२ जना जनरल अब्जर्भर, ९५ जना प्रहरी अब्जर्भर र १०० जना व्यय पर्यवेक्षकहरू नियुक्त गरेको छ। संवेदनशील र अति-संवेदनशील मतदान केन्द्रहरूमा कुनै पनि प्रकारको गडबडी हुन नदिन अतिरिक्त बल परिचालन गरिएको र मतदाताहरूलाई निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ।










