काठमाडौंमा शक्ति राष्ट्रको ‘कूटनीतिक बक्सिङ’: अमेरिकी अधिकारी आएलगत्तै चिनियाँ टोलीको दौडधुप

RG23f0hF3neprAPZauoNr1g3p6Q

काठमाडौं(नेत्र बिक्रम बिमली): ​नेपालमा अमेरिकी र चिनियाँ उच्च अधिकारीहरूको बढ्दो सक्रियताले काठमाडौं फेरि एकपटक शक्ति राष्ट्रहरूको कूटनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ। अमेरिकी सहायक विदेश मन्त्री समीर पाल कपुरको नेपाल भ्रमण र लगत्तै चिनियाँ विदेश मन्त्रालयका उप–निर्देशक गाओ शिंगको आगमनले यहाँको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ।
​यसपटक अमेरिकी अधिकारी कपुरको भ्रमण अन्य दक्षिण एसियाली देशहरूलाई नमिसाई केवल नेपालका लागि मात्र केन्द्रित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्दै अमेरिकी लगानी र प्राविधिक सहयोग विस्तारमा जोड दिएका छन्। कपुरले स्पष्ट शब्दमा अमेरिकाले नेपालमा चीन वा अन्य कुनै देशको वर्चस्व नचाहेको बताउँदै यहाँ ‘अन्य देश’ भन्नाले भारततर्फ संकेत गरेको विज्ञहरूको बुझाइ छ।
​अमेरिकी टोली काठमाडौं ओर्लिएको केही घण्टामै चिनियाँ अधिकारी गाओ शिंगले परराष्ट्र मन्त्रालय पुगेर गम्भीर चासो व्यक्त गरेपछि कूटनीतिक माहोल थप तातेको छ। चिनियाँ पक्षले नेपाललाई अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र एलन मस्कको ‘स्टारलिंक’ स्याटेलाइट नेटवर्कबाट टाढै रहन आग्रह गरेको छ। सबैभन्दा संवेदनशील विषय भारतमा हुन लागेको तिब्बती निर्वासित सरकारको शपथ ग्रहण कार्यक्रम बनेको छ, जसमा नेपाललाई सहभागी नहुन चीनले कडा दबाब दिएको छ। पूर्व कूटनीतिज्ञ एसडी मुनिका अनुसार अमेरिकाले नेपालमा भारतको एकल वर्चस्वलाई सधैं कम गर्ने नीति राख्दै आएको छ। वर्तमान सरकारका नयाँ मन्त्रीहरूका लागि अमेरिका, चीन र भारतबीचको यो जटिल भू–राजनीतिक सन्तुलन मिलाउनु अबको मुख्य चुनौती हुने देखिएको छ।

About Author

Advertisement