गेजिङ: गेजिङ जिल्ला अन्तर्गत पर्यटकीयस्थल योक्सममा पञ्जीकृत गाइड तथा ट्रेकिङ कुकहरूका लागि उच्च उचाइ रोग सम्बन्धी एक दिने विशेष सचेतना तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। योक्समस्थित पर्यटक सूचना केन्द्रमा आयोजित उक्त कार्यक्रम ‘सिक्किम इन्स्पायर्स’ पहल अन्तर्गत भारतीय हिमालयन साहसिक तथा इको-पर्यटन केन्द्र (आईएचसीएई), चेम्चेले आयोजना गरेको हो।
तालिमको पहिलो सत्रमा डा. गिरीश भारद्वाजले उच्च उचाइको वातावरण र त्यसले मानव शरीरमा पार्ने प्रभावका विषयमा प्राविधिक जानकारी दिनुभएको थियो। उहाँले विशेषगरी तीव्र पर्वतीय रोग, उच्च उचाइमा फोक्सो सुन्निने समस्या र मस्तिष्क सुन्निने जस्ता गम्भीर अवस्थाका कारण, लक्षण र जोखिम न्यूनीकरणका सिद्धान्तबारे सहभागीहरूलाई सचेत गराउनुभयो। पर्वतारोहण र पदयात्राका क्रममा आइपर्ने यस्ता स्वास्थ्य समस्याको समयमै पहिचान गर्न सके ठुलो क्षति कम हुने उहाँले बताउनुभयो।
त्यसैगरी दोस्रो सत्रमा प्रशिक्षक बलम राम ठाकुरले फिल्ड व्यवस्थापन र आपतकालीन उद्धारका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बिरामीको पहिचान गर्ने तरिका, तत्काल प्रतिक्रिया प्रणाली र मानक सञ्चालन प्रक्रिया अनुसार उद्धार समन्वय र सञ्चार प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा व्यावहारिक उदाहरणसहित प्रशिक्षण प्रदान गर्नुभयो। कार्यक्रमको अन्तिम चरणमा ७२ बटालियन एसएसबी योक्समका एएसआई गुरमन्त सिंह र सीआई ओम प्रकाशले आपतकालीन अवस्थामा गरिने प्राथमिक उपचार र उद्धारका विधिहरू प्रयोगात्मक रूपमा प्रदर्शन गर्नुभएको थियो।
पर्यटन क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा पश्चिम सिक्किमका ५२ जना पञ्जीकृत गाइड तथा ट्रेकिङ कुकहरूको सक्रिय सहभागिता रहेको थियो। ट्रेकिङको सिजनमा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै आयोजना गरिएको यस तालिमले स्थानीय पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










