माङ्गन: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागअन्तर्गत चेम्चे स्थित भारतीय हिमालयन साहसिक तथा पर्यावरण पर्यटन केन्द्रले साहसिक शिक्षण तथा तालिमको क्षेत्रमा देशकै अग्रणी संस्था बन्ने लक्ष्यलाई निरन्तर अगाडि बढाइरहेको छ।
यसै क्रममा केन्द्रले युमथाङ र लाङ्कोङ उपत्यकामा सञ्चालन भइरहेका आधारभूत तथा उन्नत पर्वतारोहण तालिमहरूको विस्तृत निरीक्षण गरेको छ। यी तालिमहरू सहभागीहरूलाई आवश्यक पर्वतारोहण सीप प्रदान गर्न, आत्मबल विकास गर्न तथा वातावरण संरक्षणप्रति जिम्मेवार बनाउन केन्द्रित रहेका छन्।
निरीक्षण टोलीको नेतृत्व पर्यटन तथा नागरिक उड्डयन विभागका संयुक्त निर्देशक (साहसिक) तथा केन्द्रका प्रधान काजी शेर्पाले गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले सुरक्षा व्यवस्थापन, खाद्य तथा पोषण, उपकरणको स्तर, तथा तालिम सञ्चालनको समग्र व्यवस्थापनको सूक्ष्म समीक्षा गर्नुभयो। साथै प्रशिक्षक र सहभागीहरूसँग अन्तरक्रिया गर्दै सुरक्षित र सफल कार्यक्रम सञ्चालनका लागि आवश्यक सुझाव दिनुभयो।
कुल २८ दिन अवधिका चारवटा पर्वतारोहण तालिमहरूमा ११८ जना सहभागी रहेका छन्, जसमा देशभरिका राष्ट्रिय क्याडेट कोरका क्याडेटहरू, विभागका कर्मचारीहरू तथा निजी रूपमा सहभागी व्यक्तिहरू समावेश छन्। यी तालिमहरू दुईवटा आधारभूत र दुईवटा उन्नत समूहमा विभाजन गरी सञ्चालन भइरहेका छन्।
कार्यक्रमले राष्ट्रिय स्तरमा उल्लेखनीय सहभागिता सुनिश्चित गर्दै देशका विभिन्न भागबाट आएका युवा क्याडेटहरूलाई हिमालयको स्वच्छ र उच्च हिमाली वातावरणमा तालिम लिने अवसर प्रदान गरेको छ।
निरीक्षण टोलीले युमथाङ र लाङ्कोङ उपत्यकास्थित तालिम शिविरहरूको पनि अवलोकन गर्दै आवास, सामग्री व्यवस्थापन तथा क्षेत्रीय अभ्यासका तयारीहरूको मूल्याङ्कन गरेको थियो। टोलीले समग्र व्यवस्थापन तथा प्रशिक्षक र सहभागीहरूको समर्पणप्रति सन्तोष व्यक्त गरेको छ।
अनुशासन, सहकार्य, सहनशीलता तथा वातावरणीय सचेतनामा केन्द्रित यस तालिमले सहभागीहरूलाई प्राविधिक सीपसँगै दिगो साहसिक अभ्यासप्रति गहिरो समझ विकास गराउने लक्ष्य राखेको छ।

श्री शेरपाले सबै सहभागीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै साहस, जिम्मेवारी र प्रकृतिप्रतिको सम्मानलाई जीवनमा अगाडि बढाउन आग्रह गर्नुभयो। साथै दुर्गम हिमाली क्षेत्रमा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्थानीय सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।
तालिम केन्द्रका तालिम अधिकृत नकुल गिरी तथा वरिष्ठ प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन भइरहेको यस कार्यक्रममा हिमालयन पर्वतारोहण संस्थाका विशेषज्ञहरूको समेत सहभागिता रहेको छ, जसले तालिमको उच्च स्तर कायम राख्न सहयोग पुर्याएको छ।









