१० अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार कालीझोड़ा युवा परिवारले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो राउण्डको म्याचमा कालीझोड़ा युवा परिवारले गैरीबास युनाइटेड एफसी-लाई टाईब्रेकरमा ९-८-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। भोलि खेलिने म्याचमा पीवाईएस रोंगचोंग र प्रशान्ति ग्राम मंगपूबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।