पहिलो वैशाख मनाउने साथै गुरु गोरखनाथको मूर्ति स्थापना गरिने निर्णय
खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा गोर्खा सांस्कृतिक चिन्तन भवन, आई. एन. ए. बस बिसौनी परिसरमा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो।संस्थानकी मूल-सचिव प्रणिता मुखियाले सञ्चालन गरेको सभामा अध्यक्षको अनुमतिसहित सभालाई सञ्चालन गर्दै सचिवले गत २८ दिसम्बर २०२५ को दिन बसेको सभाका पारित प्रस्तावहरूलाई अनुमोदन गर्न अनि संस्थानका आगामी कार्यक्रमहरूको विस्तृत रूपरेखा तयार गर्नको निम्ति आजको सभा डाकिएको जनाइन्। गत सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङको प्रत्येक वर्ष विभिन्न स्तरमा सम्पन्न गरिने गोर्खा नव-वर्ष पहिलो वैशाखको आयोजना मूख्य रहेकोले यसवर्ष नव-वर्ष २०८३ लाई भव्य स्वागत जनाउँदै दुइ दिवसीय कार्यक्रम पहिलो र दोस्रो वैशाख २०८३ का दिनहरूमा सम्पन्न गर्ने सभामा सर्वसम्मतिले निर्णय लियो। सभामा १ गते वैशाख 2083 तदानुसार १४ अप्रेल 2026 को दिन खरसाङ अनि वरिपरि क्षेत्रका सम्पूर्ण संघ संस्था, जातगोष्ठी समुदाय, पाठशाला, महाविद्यालयका छात्र-छात्रा, सरकारी, गैरसरकारी प्रशिक्षण केन्द्रका प्रशिक्षणार्थीहरूलाई समावेश गरेर जातीय पोशाकमा सज्जिएर नव-वर्षलाई गीत,संगीत अनि नृत्य अनि नौमतीले सुस्वागत जनाउँदै विराट अनि भव्य सांस्कृतिक शोभायात्राको आयोजना गर्ने सभामा सर्वसम्मतिले निर्णय लियो। सभामा शोभायात्रा सम्पन्न भएपछि स्थानीय पार्क लोकेसनको सार्वजनिक भवनमा गोर्खा नेपाली जातिका सांस्कृतिक धरोहर, वरिष्ठ लोक संगीतकार नरेन गुरूङ, ‘पद्मश्री’, गान्तोक, सिक्किमलाई गोसांसको पक्षबाट सम्मान गर्ने निर्णय सभामा लिइयो। उसैगरि आफ्नो सम्पूर्ण जीवन सारङ्गीमा अर्पेर जीवन धान्ने व्यवसाय पनि सारङ्गीलाई मानेर जीवनयापन गर्ने वरिष्ठ सारङ्गीवादक प्रेम गन्धर्व, खरसाङलाई ससम्मान सम्वर्द्धना जनाउने निर्णय सभाले पारित गरेको छ। त्यसरी नै सभामा १५ अप्रेल २०२६ को दिन सोही भवनमा “जातीय खाद्धोत्सव” अनि “लोक संगीतमय साँझ” को आयोजन हुनेछ जसमा दर्शक, श्रोताहरूले सुहाउँदिलो दरमा नाना थरीका जातीय आहारको स्वाद लिँदै, सुन्द संगीतमय वातावरणमा रम्दै सम्मानित व्यक्तित्वहरू अनि लोकसंगीत लोक जगतका वरिष्ठ कलाकारहरूबाट संगीतको रसास्वादन गर्न सक्नेछन्। सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङको स्थापनाकालदेखिको गुरू गोरखनाथको मूर्ति स्थापना गर्ने परिकल्पना आजपर्यन्त साकार हुन नसकेको तथ्य आध्यक्षा आशा मुखिया लामाले सभामा राखिन्। भारतमा हामी गोर्खाहरू डेड़ करोड़भन्दा अधिक संख्यामा छौँ भने प्रत्येकले एक रूपियाँको दरले अनुदान दिए पनि डेढ करोड़ रूपियाँ संकलन गर्न सकिन्छ। यसैले सकरात्मक सोंच लिएर दीर्घकालीन गुरू गोरखनाथको मूर्ति स्थापना गर्ने अधुरो सपनालाई यसपल्ट सबै मिलेर साकार तुल्याउने आह्वान सभामा गरिन्। सभामा उपस्थित सदस्यहरूले जोड़दार करतलध्वनीले यो सुझावलाई स्वागत जनाए। मूर्तिको अनावरण पनि नव-वर्ष पहिलो वैशाख २०८३ को दिन गर्ने सर्वसम्मतिले पारित गरिएको छ। सभामा वरिष्ठ समाजसेवक तिलक शर्माले गुरू गोरखनाथको मूर्ति निर्माणको सुझावलाई स्वागत जनाउँदै तत्कालै आफ्नो तर्फबाट रूपियाँ १००१ (रूपियाँ एक हजार एक) मात्र अनुदान स्वरूप दिएर उक्त अभियानलाई सहयोगको हात बढ़ाएका छन्।
सभामा गुरू गोरखनाथको मूर्ति बाग्राकोट निवासी वरिष्ठ मूर्तिकार अमीर सुन्दासबाट निर्माण गरिने सभाले तय गर्यो। अतः सभाले अमीर सुन्दाससित मोबाइलबाट कुराकानी गरेपछि सदस्यहरू बाग्राकोट जाने निश्चय भयो। सुन्दासलाई भेटेर प्राप्त रूपियाँ एक हजार एकले उनलाई मूर्ति निर्माणको निम्ति बैना मारेको जानकारी अध्यक्षा आशा मुखिया लामाले दिएकी छन्। सभामा गोर्खा सांस्कृतिक संस्थान, खरसाङका सदस्यहरूले यथाशक्ति आर्थिक अनुदान दिएर मूर्ति निर्माण अभियानलाई सफल तुल्याउने जमर्कोमा दिलोज्यानले लागिपरेको तथ्य सचिव श्रीमती प्रणिता मुखियाले बताएकी छन्। सभामा गोर्खा जातिका प्रतिक पुरूष गुरु गोरखनाथको मुर्ति निर्माण अभियानमा आर्थिक सहयोगको निम्ति खरसाङ वरिपरिका सम्पूर्ण संघ संस्था जातगोष्ठी समुदायहरूसित पत्राचार सम्पर्क गरेर निवेदन टक्र्याउने अनि व्यवहारिकतालाई मध्यनजर राखेर गोसांसको ‘क्यू आर कोड’ सबैसित साझा गर्ने निर्णय पनि सभामा सर्वसम्मतिले पारित गरिएको छ। सभामा मूर्ति निर्माण अभियानमा सहयोगी/अनुदाता अथवा संघ/संस्था जसले रूपियाँ पाँच हजारभन्दा बढ़ी रकम अनुदान प्रदान गर्छन् उनीहरूको शुभनाम मार्बलमा कुँदिने पनि सभाले निर्णय लिएको छ। सभामा पहिलो वैशाखको सम्पूर्ण आयोजनालाई सफलीभूत तुल्याउँनको निम्ति विभिन्न निकायहरूसित सम्पर्क राख्ने निर्णय सभामा लिइएको जानकारी प्राप्त भएको छ।









